प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वपछि माओवादी पार्टी कुन रुपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन्।
पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग (वाईसीएल) को बागमती प्रदेशको अधिवेशनलाई सोमबार भक्तपुरमा उदघाटन गर्दै पुनले उपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताए।
अध्यक्ष प्रचण्डले पार्टीको गत महाधिवेशनमा नेतृत्वको शृंखला तयार पार्ने विधि प्रस्ताव गरेको भन्दै पुनले सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुमा त्यस प्रकारको अभ्यास आरम्भ भएको उल्लेख गरे।
पार्टी नेतृत्व भनेको व्यक्ति नभई टिम भएको र नेताहरुको बीचबाट चयन भएको नेताले पार्टी हाँक्ने उनले उल्लेख गरे।
उनले थपे, ‘कमरेड प्रचण्डकै प्रस्तावमा हामीले गत महाविशनबाट जनवादी ढंगले नेतृत्वको शृंखला तयार गर्नेबारे विधि बनाएका छौँ।’
पुनले थपे, ‘अध्यक्ष कमरेड प्रचण्ड र उहाँका पुस्ताका नेताहरु इतिहासको आवश्यकता र आकस्मिकताले पैदा गरेका नेताहरु हुनुहुन्छ। प्रचण्डको नेतृत्व प्राधिकारका रुपमा निर्माण भएको थियो।’
उनले अझै केही समय प्रचण्डको नेतृत्वलाई बलियो र सम्मानित बनाएर लैजानुपर्नेमा पार्टीभित्र कसैको फरक मत नरहेको दाबी गरे।
फरक प्रसंगमा पुनले वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको हो भन्ने आमजनताबीचमा स्थापित भएको जिकिर गरे।
‘अध्यक्ष प्रचण्डसहति हामीले संसदबाटै यो सरकार बिचौलियाले बनाएको हो भन्दै आयौँ,’ उनले भने, ‘सुरुमा हाम्रो कुरालाई सरकारबाट हट्दाको पीडा भन्ने गरिन्थ्यो। एक वर्ष बित्दै गर्दा अहिले सबै जसोले त्यही भन्न थाले।’
Shares

प्रतिक्रिया