राजनीति


नेसपा (नयाँ शक्ति)ले प्रशंसा अभियान चुस्त बनाउने

नेसपा (नयाँ शक्ति)ले प्रशंसा अभियान चुस्त बनाउने

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १३:२९, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रशिक्षण, सङ्गठन विस्तार र सामाजिक परिचालनसम्बधी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ।

पार्टी पदाधिकारीको मङ्गलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर गर्दै देशव्यापी सङ्गठन निर्माण र विस्तारलाई तीव्र तुल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेको पनि प्रवक्ता शर्माले बताए।

बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ।

अध्यक्ष डा भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय, तीनकुनेमा भएकोे बैठकमा पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र सङ्गठनात्मक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

पार्टी अध्यक्ष डा भट्टराईले भारत प्रवासको अधिवेशनमा हुने क्रममा त्यहाँका शीर्ष राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीसँग गरेको संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका निर्वाह गरेको ठहर गरिएको प्रवक्ता शर्माले बताए।

नेसपाले आगामी यही जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षरोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरलगायत विविध रचनात्मक कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad