राजनीति


सगरमाथा संवादमा चीन र भारतबाट मन्त्रीस्तरीय प्रतिनिधित्व

सगरमाथा संवादमा चीन र भारतबाट मन्त्रीस्तरीय प्रतिनिधित्व

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:८, काठमाडौँ

जेठ पहिलो हप्ता आयोजना हुन लागेको सगरमाथा संवादमा छिमेकी चीन र भारतको उच्चस्तरीय सहभागिता हुने भएको छ। चीनको तर्फबाट १४ औँ नेसनल पिपुल्स कंग्रेसका भाइस चेयरमेन र भारतको तर्फबाट वातावरण वन तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्रीले सहभागिता जनाउने भएका हुन्।

चीनको तर्फबाट १४ औँ पिपुल्स नेसनल कंग्रेसका भाइस चेयरमेन सिआओ जी र भारतको तर्फबाट मन्त्री भूपेन्दर यादवले सगरमाथा संवादमा सहभागिता जनाउने टुङ्गो लागेको हो। सगरमाथा संवादमा कोप-१९ को अध्यक्षता पाएको अजरबैजानका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेवले पनि सहभागिता जनाउने छन्। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी गराएअनुसार बंगलादेशको तर्फबाट सामाजिक कल्याणमन्त्रीका सल्लाहकार शर्मिन मुर्सिद सहभागी हुनेछन् भने भुटानको तर्फबाट उर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङले प्रतिनिधित्व गर्नेछन्। 

माल्दिभ्सको तर्फबाट पर्यटन तथा वातावरणमन्त्री तोरिक इब्राहिम सहभागी हुने जानकारी पनि परराष्ट्रमन्त्री डा. राणाले दिएकी छन्। सगरमाथा संवादमा जापानको तर्फबाट परराष्ट्रउपमन्त्री इकिना अकिको सहभागी हुनेछन्। यूएईले पनि आफ्ना परराष्ट्र उपमन्त्री अब्दुब्ला बलालालाई सगरमाथा संवादमा सहभागिताका लागि पठाउने भएको छ। 

बेलायतको तर्फबाट मन्त्री तहका अधिकारी बारोनेस सुसन हेम्यान संवादमा सहभागी हुनेछन्। उनको जिम्मेवारी ‘पार्लियामेन्टरी अण्डर–सेक्रेटरी अफ स्टेट’ रहेको जानकारी गराइएको छ। 

अन्य १० मुलुक र क्षेत्रीय संगठनहरुले राजदूतको तहबाट सगरमाथा संवादमा सहभागिता जनाउनेछन्। तिनमा कतार, किर्गिस्तान, ओमन, ब्राजिल, इजिप्ट, सार्क, बिमस्टेक, संयुक्त राष्ट्रसंघलगायत छन्। यसैगरी विश्वबैंक–दक्षिण एसिया उपसभापति मार्टिन राइजर र एसियाली विकास बैंकको यस क्षेत्र हेर्ने उपसभापति फातिमा यास्मिनको पनि सगरमाथा संवादमा सहभागिता रहने भएको छ।

सगरमाथा संवाद आगामी २–४ जेठमा काठमाडौँस्थित सोल्टी होटलमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad