राजनीति


यी ४ कारण नवराज सुवेदीलाई नेता मानेर आन्दोलनमा होमिन तयार भए राजावादी

‘ठूलो घर’को दबाबले ट्र्यापमा राप्रपा
यी ४ कारण नवराज सुवेदीलाई नेता मानेर आन्दोलनमा होमिन तयार भए राजावादी

सागर न्यौपाने
बैशाख ३०, २०८२ मंगलबार ८:५९, काठमाडौँ

तीनकुनेको हिंसात्मक घटनापछि तहसनहस भएका राजावादी दल, शक्ति र समूहहरू फेरि एकै ठाउँमा उभिएर गणतन्त्रविरुद्ध आन्दोलन गर्ने प्रयासमा जुटेका छन्। 

राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चलगायत समूह पहिलोपटक एकै ठाउँमा उभिएका हुन्। उनीहरूको नेतृत्व वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीले गर्ने छन्।

वैशाख २५ गते जुटेको निर्णय अनुसार जेठ १५ गतेदेखि आन्दोलन अघि बढ्नेछ। उनीहरूले मोटरसाइकल र्‍याली गरिसकेका छन्।

सुवेदी समेत सहभागी भएको तीनकुने आन्दोलनमा चैत्र १५ गते भएको आततायी घटना सेलाइसकेको छैन। राजावादीका हिंसात्मक गतिविधिले दुईजनाले ज्यान गुमाएका थिए भने पचासौँ करोडको धनमाल क्षति भएको थियो। 

घटनामा प्रत्यक्ष संलग्न भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित अन्य २४ नेता हिरासतमा छन्। सो घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं पनि अहिले प्रहरी हिरासतमै छन्। घटनामा संलग्न विभिन्न व्यक्तिलाई प्रहरीले खोजीखोजी पक्राउ गरिरहेको छ।

यस्तो अवस्थामा चारतिर फर्किएका राजावादीहरू कसरी एकत्रित हुन सके? तीनकुने हिंसाको घटना सेलाउन नपाई उनै सुवेदीकै नेतृत्वमा आन्दोलन गर्न राजावादी कसरी एकजुट भए? उनीहरूलाई सुवेदीले कसरी मिलाउन सफल भए त?

मुख्यगरी यसको चार कारण रहेको राजावादी समूहका नेताहरूको भनाइ छ। पहिलो हो, सरकारले दमन गर्ने भय।

कमल थापा नेतृत्वको राप्रपा नेपालका एक पदाधिकारी दमनबाट बच्न र  अस्तित्व रक्षाका लागि सबै समूह मिलेको बताउँछन्।  

‘नवराज  सुवेदीकै नेतृत्वमा सबै एकै ठाउँ हुनुपर्ने रहरभन्दा पनि बाध्यता हो,’ उनले भने, ‘किन भन्दा तीनकुने घटनाक्रममा राज्य जुन रूपमा उत्रियो, सरकारले जुन ढंगले दमन गर्‍यो। त्यही भएर अस्तित्व रक्षाका आएका हौँ।’

सरकारले गणतन्त्र, संघीयताविरुद्ध बोल्न नपाउनेगरी बन्देज लगाउनसक्ने सूचना पाएपछि मिल्नैपर्ने दबाब बढेको ती नेताले दाबी गरे। 

‘विचार, सिद्धान्त नै भोलि उठाउन नपाउने हुने भयो। परिस्थितिले निर्माण गरेको बाध्यकारी अवस्था हो,’ उनले थपे। 

सांसदसमेत रहेका धवलशम्शेर राणा सांसद थुनिएको, राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रको पटकपटक म्याद थप भइरहेको कारण आपसमा नमिले जे पनि हुनसक्छ भन्ने भय छाएको नेताहरूको भनाइ छ। 

राजावादी समूह एकठाउँमा आउनुको दोस्रो कारण पूर्वराजा ज्ञानेन्द्र शाहको दबाब रहेको नेताहरूको भनाइ छ। शाहले नगरकोटमा १२ दिन बसेर विभिन्न राजावादी घटकलाई मिलाउन पहल गरेका थिए। नगरकोट पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुईपटक, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एक–एकपटक ज्ञानेन्द्रसँग भेट गरेका थिए।

केही वर्षअघि राप्रपाको महाधिवेशनमा अध्यक्षमा आफूलाई हराउन निर्मलनिवास (ज्ञानेन्द्र शाह)ले भूमिका खेलेको भन्दै थापा रुष्ट भएर नयाँ पार्टी खोलेका थिए। 

‘कांग्रेस र वाममोर्चा त मिल्न सके, कांग्रेस र माओवादी त मिल्न सके भने हामी राजावादी मिल्न नसक्ने भन्ने के छ र? मिलिहाल्छौँ भनेर एउटा परिस्थिति बनेको हो,’ राप्रपाका एक पदाधिकारीले भने, ‘ज्ञानेन्द्रको चाहना पनि सबै मिलेर गर भन्ने रह्यो।’ 

राप्रपाका अर्का प्रभावशाली पदाधिकारीले त जबर्जस्ती मिल्न परेको गुनासो गरे। 

‘हामी अर्घेलो हुने जस्तो भयो, सबै मिल्नपर्छ भनेर लाग्ने अनि हामीले आन्दोलन गर्न नखोजेको जस्तो, मिल्न नखोजेको जस्तो प्रचार गर्न थाले,’ ती पदाधिकारीले भने, ‘संख्या हेर्दा पनि उतैपट्टि ज्यादा देखियो।’ 

‘ठूलो घर (निर्मल निवास)ले पनि  मिल्न दबाब दिन थाले, हामी ट्र्यापमा पर्‍यौँ। मिलेर जाऊँ, यिनीहरूले सक्तैनन् भन्ने थाहा छ, नजाऊँ, हामीलाई दोष आउन थाल्यो,’ उनले थपे, ‘लौ त, तिमीहरू गर्छाै भने गर त, हामी सहयोग गर्छाैं भनेर तयार भयौँ।’

ती नेताले राप्रपाभित्र दुई गुट रहेको पनि बताए। 

‘पार्टीभित्रको इक्वेसन, सरकारमा जान नपाउनेको पनि आवाज सुन्नैपर्‍यो,’ ती पदाधिकारीले भने, ‘दुर्गा प्रसाईंको कार्यक्रममा जाने कि नजाने भन्नेमा दुई गुट भयो। बरु पार्टीको पद छोड्ने, तर उता जान साथीहरू तयार भए, अहिले पनि त्यसो नहोस् भनेर मान्दिएको मात्र हो। तर, यिनीहरूले गर्ने आन्दोलनको भर छैन।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्ञानेन्द्रसँग मिलेर राजा फर्काउने निर्णायक आन्दोलन थालेपछि राजावादी दल दबाबमा थिए। 

‘दुर्गाको कार्यशैलीले सबैलाई एकै ठाउँमा आउन बाधा अवरोध त थियो,’ राप्रपा नेपालका अर्का पदाधिकारीले भने, ‘उनी नै जेल गएपछि मिल्ने परिस्थिति निर्माण भयो।’

तेस्रो कारण– आन्दोलनका लागि अहिलेभन्दा राम्रो वातावरण फेरि तयार नहुन सक्छ भन्ने निचोडमा सबैजसो राजावादी समूह आइपुगेका छन्।

‘अहिले सरकारप्रति जनतामा आक्रोश छ, जनतामा रहेको निराशालाई सदुपयोग गर्न सकिन्छ कि, यसलाई संगठित गर्न सकिन्छ कि भन्ने आशा पनि हो, कांग्रेस, एमाले, माओवादीकै असफलताले एउटा अनुकूल वातावरण बनेको छ, यही बेला राजनीतिक रूपमा लाभ लिने प्रयास हो,’ राप्रपाका ती पदाधिकारी भन्छन्।

एक्लाएक्लै गरिने आन्दोलन असरहीन हुने निर्क्यौलमा राजावादी समूहहरू पुगेका छन्। त्यसैले निर्णायक आन्दोलन गर्ने हो भने मिल्नैपर्ने उनीहरूको निष्कर्ष छ। सबै राजावादी समूह एकठाउँमा आउनुको चौथो कारण यही हो।

‘कमजोरी करेक्सन गर्दै मिलेर जानुपर्छ भनेर विभिन्न शक्ति समूह, सूत्रहरू लागि रहेका थिए,’ राप्रपा नेपालका ती नेताले भने, ‘दरबारका निकट, नातेदारले पनि अविश्वासबाट निस्कनुपर्छ यसमै अडिनु हुँदैन। यसले एजेन्डा कमजोर बनाउँछ भन्नुभयो। कुण्ठा, महत्त्वाकांक्षा, गुनासोलाई सधैँभरि बोकेर हिँडिरहँदा कहीँपनि पुगिँदैन, यसले कसैलाई पनि लाभ दिँदैन भन्ने निचोडमा पुगिएको हो। अब तत्कालको लागि सबै आन्दोलनमै केन्द्रित हुन्छौँ।’

तीनकुने घटनापछि राप्रपाभित्र रहेको विवाद पनि सतहमा आएको छ। आन्दोलनमा अध्यक्षलगायतका केही नेता सहभागी भएनन् तर जो सहभागी भए उनीहरू प्रहरी हिरासत पुगे।  

‘अब आन्दोलनमा केन्द्रित हुँदा विवाद थाती रहन्छ भन्ने हो,’ एक नेता भन्छन्। 

त्यसो त राप्रपाले छुट्टै आन्दोलन गरिरहेको छ। तर, त्यसलाई छोड्न किन आवश्यक पर्‍यो? 

‘राष्ट्रिय झण्डामा सबैजना अटाउने एउटा साझा र संयुक्त आन्दोलनको आवश्यकता पर्‍यो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘देशको झण्डा बोकेर सबै जना एकीकृत शक्ति बनाएर आन्दोलनमा जान हामीलाई केही आपत्ति छैन, त्यही भएर गोलबन्द भयौँ।’ 

०८२ समान उदेश्य र समान विचार भएकाहरू एकैठाउँमा बस्ने भनेर एउटा ठूलो प्रयास गरिएको उनले बताए। 

‘विभिन्न दलहरू, स्वतन्त्र समूह, अभियान एक ठाउँमा बस्नुपर्ने आवश्यकता महसुस गरियो। राजासँगको पटकपटकको भेटमा उहाँको पनि त्यही जोड देखियो,’ श्रेष्ठले भने। 

‘सबैले आन्दोलनको महसुस गरिरहेका छन्, तर एक्लाएक्लै आन्दोलन गरेर निर्णायक आन्दोलनमा पुग्ने सम्भावना देखिएन,’ उनी भन्छन्, ‘आवश्यकताले गर्दा सबै एकै ठाउँमा संगठित भएका छौँ। आम जनताको परिवर्तनको चाहना र त्यसलाई सम्बोधन गर्नुपर्ने ऐतिहासिक दायित्व देशभक्त राष्ट्रवादी शक्तिको काँधमा आएकोले राप्राले ठूलो छाती गरेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad