०७८ मंसिर १९ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले तत्कालीन राजा ज्ञानेन्द्र शाहप्रति तितो पोख्दै पार्टी नै परित्यागको घोषणा गरे। पार्टीको आन्तरिक मामिलामा राजाको सचिवालयको प्रत्यक्ष हस्तक्षेप भएपछि आफूले चुनाव हारेको र आफ्नो मान्यतामा ठूलो कुठराघात गरेको आरोप उनले ज्ञानेन्द्रप्रति लगाए।
कमल थापाले सुरुमा पार्टीभित्रै निराकरण खोजे तर केही नपाएपछि हेटौँडा पुगेर ‘अत्यन्त भारी मन र पीडाबोधका साथ’ राप्रपाबाट अलग हुने निर्णय गरेको जानकारी गराए। राप्रपा छाडेको केही महिनापछि फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताए। थापाले राजतन्त्र पुनस्थापना गर्ने एजेन्डा छाडेर हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा तय गरे।
तर, राजतन्त्र पुनस्थापना गर्ने एजेन्डाबेगर उनी लामो समय टिक्न सकेनन्। १५ महिनापछि फेरि उनी आत्मालोचनासहित राजसंस्थाको एजेन्डामै फर्किए।
‘मैले राजा या राजसंस्थाको विरुद्धमा जुन किसिमबाट तीखो प्रहार गरेँ, त्यो उपयुक्त थिएन भन्ने मलाई अहिले आत्मबोध भएको छ,’ उनले खुलेरै आत्मालोचना गरे। यद्यपि ०७८ मंसिरमा महाधिवेशनमा पराजय भएयता उनी र पूर्वराजाबीच भेट भएको थिएन।
राजालाई राजगद्दीमा फर्काउने आन्लोलन फेरि तातिरहेका बेला यही साता राजनीतिक वृत्तमा सर्वत्र चर्चा चल्यो– पूर्व राजा शाहले नगरकोटमा बसेर राजावादीहरूसँग भेट बढाइरहेका छन्। यहीबीचमा कमल थापालाई पनि उनले भेट्न बोलाए।

नेपालखबर ‘तत्कालै’मा कुराकानी गर्न शनिबार थापाथलीस्थित ब्लुस्टार कम्पेल्क्सको स्टुडियोमा आएका कमल थापाले झन्डै तीन वर्षपछि पूर्वराजासँग भेटघाट भएको स्वीकारे।
हामीले सोध्यौँ– नगरकोटमा बोलाएर पूर्वराजाले के भने त?
‘राजासँग बेलाबेलामा भेट भइरहन्छ। स्वाभाविक रूपमा राजासँग भेट हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि चर्चा हुन्छ,’ जवाफमा थापाले भने, ‘झन्डै तीन वर्षपछि भेट भएको हो। उहाँले नै बोलाउनुभएको हो। लामो ग्याप भए पनि हामीबीच कुनै न कुनै माध्यमबाट सन्देश आदानप्रदान भइरहन्थ्यो। यसपटकको भेटमा भारत र पाकिस्तानबीच उत्पन्न तनाव र त्यसले पार्न सक्ने प्रभावबारे चर्चा गर्यौँ।’
हामीले प्रतिपश्न गर्यौँ– लामो ग्यापपछि भेट हुँदा मन माझामाझ भयो होला, तपाईंका पनि केही चित्त दुखाइ थिए होलान्?
जवाफमा उनले भने, ‘त्यो च्याप्टर क्लोज भइसक्यो। खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनपछि जुन तिक्तताको अवस्था थियो, त्यो अन्त्य भएर म सशक्त रूपमा राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा बोकेर हिँड्न थालेको नै दुइ–अढाई वर्ष भइसक्यो। त्यसैले मन माझामाझको अवस्था पनि त्यस्तो केही थिएन।’
भेटघाटमा पूर्वराजाले खासगरी देश र जनताकै बारेमा चिन्ता व्यक्त गरेको उनको भनाइ छ।
‘राजाको चिन्ता देश र जनताको बारेमा छ,’ थापाले भने, ‘१८ वर्षअघि जुन राजनीतिक परिवर्तन भयो र २०६५ साल जेठ १५ गते संविधान सभाको बैठकले जुन निर्णय गर्यो, त्यसपछि राजसंस्था पाखा लागेको अवस्था हो। राजाले २०६५ साल जेठ २९ गते नारायणहिटी दरबार छोड्दाखेरी देशमा राम्रो अवस्था सिर्जना होस्, प्रजातन्त्र बलियो होस्, जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन सकोस्, शान्ति स्थायित्व कायम होस् भन्ने शुभकामनाका साथ आफ्नो शाह वंशीय विरासतबाट प्राप्त भएको श्रीपेच र राजदण्ड नासोको रूपमा सरकारलाई जिम्मा लगाएर गएको तपाईं हामीले देखेकै हो। ’

‘त्यसपछिको देशको अवस्थाको बारेमा राजामा चिन्ता भएको मैले पाएको छु,’ उनले लगत्तै थपे, ‘यो चिन्ताबाट कसरी देशलाई मुक्त बनाउने भन्ने बारेमा पनि हाम्रो विचार विमर्श भएको छ। मैले त खुलेरै भनेँ– राम्रै नियतले वा षड्यन्त्रपूर्वक ल्याइएको भएता पनि देशमा अहिले संघीय धर्म निरपेक्ष गणतन्त्रात्मक व्यवस्था छ। १८ वर्षको इतिहासले यो व्यवस्था असफल प्रमाणित गरेको छ, त्यसकारण यो व्यवस्थामा सुधार हुँदै राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने विषयमा छलफल भएको छ।’
थापाका अनुसार पूर्वराजा शाह जनता र राजनीतिक दलले जे चाहेका छन्, त्यो भूमिका निर्वाह गर्न तयार छन्।
‘राजनीतिक दलहरूले छोड्दिनुपर्यो भने, मैले छोडेँ, त्याग गरेँ। अब पनि जनता र दलहरूले जे भन्छन्, त्यो गर्न तयार छु। म जहाँ जाँदा पनि देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्छन्, गुनासो गर्छन्, राजसंस्था फर्केर आउनुपर्यो, राजा आऊ, देश बचाऊ भन्छन्। मैले उनीहरूलाई भन्ने कुरा त्यही हो, जनता र राजनीतिक दलहरूले गर्ने निर्णय मलाई स्वीकार्य छ। मैले कुनै भूमिका निर्वाह गर्नुपर्छ भन्ने जनता र दलहरूले ठान्छन् भने म तयार छु,’ पूर्वराजाको भनाइ उद्धृत गर्दै थापाले भने।
राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापनाका लागि भन्दै फेरि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै राजसंस्था पुनःस्थापनाका लागि निर्मित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ’सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरे। घोषणा कार्यक्रममा सुवेदीसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापा पनि उपस्थित थिए।
हामीले थापालाई सोध्यौँ– तपाईं राप्रपासँग एकता गर्न तयार भए पनि राप्रपाका नेताहरू तपाईंलाई ल्याउन मानिरहेका छैनन् नि?
‘यो अध्याय पनि पुरानो भइसक्यो ,’ जवाफमा थापाले भने, ‘अहिले हामी एकै ठाउँमा छौँ। मोर्चा बनाएर आन्दोलनको घोषणा गरेर अघि बढिसक्यौँ। पार्टी एक बनाउन पनि असम्भव छैन। हाम्रो विचारमा आएको संकटलाई दृष्टिगत गरेर एकताबद्ध भएका छौँ, एउटै मोर्चामा आबद्ध भएका छौँ। यसरी काम गरेपछि स्वाभाविक रूपमा एकअर्काप्रति विश्वास पनि बढ्छ, आत्मियता पनि बढ्छ र एकता पनि हुनसक्छ।’
तपाईंलाई पार्टीमा ल्याएपछि फेरि पार्टी फुटाउनुहुन्छ कि भन्ने डर पो हो कि?
‘त्यस्तो किसिमको आशंका हुनसक्छ। त्यो आशंकालाई दूर गरेर हामी अघि बढ्नुपर्छ,’ थापाले भने।

जेठ १५ देखि घोषणा गरिएको आन्दोलनले राजतन्त्र पुनस्थापना आन्दोलनकै स्वरूप लिनेमा आशंका छ।
‘हामी प्रयास गरिरहेका छौँ,’ थापा भन्छन्, ‘राजसंस्थाको सशक्त जनमत बढिरहेको प्रष्ट देखिन्छ। त्यसमा राजाको व्यक्तिगत प्रयास भन्नुस् या राजावादी पार्टीहरूको प्रयास भन्नुस् तर त्यो भन्दा बढी संघीय धर्मनिरपेक्ष गणतन्त्रको विचारको असफलता हो। त्यो असफलताले गर्दा जनता वाक्क भएका छन्। अहिलेको अवस्थामा संघीय धर्मनिरपेक्ष गणतन्त्र भनेको भ्रष्टहरू उत्पादन गर्ने कारखाना जस्तो भएको छ। केही अपवादलाई छोड्ने हो भने अधिकांश नेताहरू भ्रष्टाचारको दलदलमा चुर्लुम्मै भासिएका छन्। केही नेताले विदेशमा समेत पैसा लुकाएर लगानी गरेका छन्।’
पूर्वपरराष्ट्रमन्त्री कमल थापा भारत–पाकिस्तानबीचको पछिल्लो द्वन्द्वलाई कसरी हेर्छन् त? हेर्नुहोस्, थापासँग शनिबार गरिएको नेपालखबर ‘तत्कालै’ :
फोटो/भिडिओः सरोज नेपाल/विशाल कार्की

प्रतिक्रिया