नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन्।
पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उदघाटन गर्दै पुनले राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए।
ओलीले सहकारी, भुनानी शरणार्थी र मिटर ब्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानीछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी थियो।
‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाएका छन्। सहकारी र मिटरब्याज प्रकरणमा संलग्न आफ्नालाई छानबिन पनि हुँदैन, मुद्दा पनि चल्दैन, पक्राउ पनि गरिँदैन। तर, बिपक्षीलाइ खोजीखोजी प्रतिशोध साँध्न खोज्दा व्यवस्थामाथि नै प्रश्न उठाएर प्रतिगामीहरूले फाइदा लिन खोजेका छन्।’
पुनले दुई तिहाईको शक्तिशाली सरकारले मुलुक र जनताका लागि राम्रो काम गर्नुको साटो उल्टै व्यवस्थाको बदनाम गरेको टिप्पणी गरे। पुनले बिचौलिया र प्रतिगामी शक्तिविरुद्ध आफूहरू सधैं लड्ने चेतावनी दिए।
‘दलाल, बिचौलिया र आसेपासेलाई जनताको पसिना चुस्न दिएर व्यवस्थाको बदनाम गर्न पाइँदैन’, उनले भने, ‘बिचौलिया र प्रतिगामीहरूलाई परास्त नगरी समाजवादीको यात्रामा अघि बढ्न सम्भव छैन।’
विगतमा कर्मचारी, सचिवको सरुवा र मन्त्री नियुक्त गर्ने गरेका बिचौलिया वर्ग अहिले सरकार नै फेर्ने हैसियतमा पुगेको उनको भनाइ थियो।
सुशासनको पक्षमा काम गर्दा र बिचौलियासँग झुक्न तयार नभएका कारण प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालिएको पुनले बताए।
आफूहरूले निजी क्षेत्रका सबैलाई नभई लगानी र प्रतिस्पर्धाबिनै लाइसेन्स बेचेर नाफा कमाउने वर्गलाई बिचौलिया भनेको उनको प्रष्टीकरण थियो।
फरक प्रसंगमा पुनले सार्वभौम नागरिक भइसकेका जनता फेरि रैतीमा फर्कन र वंश परम्पराबाट शासित हुन नचाहने भन्दै प्रतिगामी शक्तिहरू सफल नहुने चेतावनी दिए।
Shares

प्रतिक्रिया