राजनीति


लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार २१:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गरेका छन्।

नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उनले भने, ‘लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो।’

मुलुकभरका ३०१ प्रतिनिधि सहभागी सङ्घको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। 

उक्त कार्यसमितिलाई राष्ट्रपतिले आज एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिएका हुन्। उनले सङ्घले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गरे।

लेखक सङ्घले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको उहाँको राष्ट्रपतिको भनाइ थियो।

उनले भने, ‘यी कुराहरु लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्वसर्त हुन्।’

राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक सङ्घमार्फत पूरा गर्न खोजेको यसका पुराना दस्तावेजहरूले देखाएको बताए।

लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथीहरू सङ्गठित भएको लेखक सङ्घमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलगायतका हस्तीहरु पनि एकबद्ध भएको उनले चर्चा गरे। लोकतन्त्रवादी लेखकहरु लोकतान्त्रिक प्रणालीका पक्षधर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सात दशक लामो प्रक्रियामा लोकतन्त्रका आदर्शहरु धेरै सन्दर्भमा विशिष्टिकृत भएको विचार व्यक्त गरे।

कार्यक्रममा सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा शशि थापा पण्डित, डा विष्णु केसी, उपमहासचिव नारायण सापकोटाका साथै केन्द्रीय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै सङ्घका सल्लाहकारहरु डा विष्णुविभु घिमिरे, सन्ध्या पहाडी, शेखर गिरीलगायतको उपस्थिति थियो।

नेपाली लेखक सङ्घको स्थापना २००८ सालमा भएको हो। नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू सङ्गठित भएर सङ्घको स्थापना गरेको इतिहास छ। विसं २०१७ पछिको पञ्चायती कालखण्डमा निष्क्रिय रहेको सङ्घ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचनासहित पुनःक्रियाशील बनेको हो।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकहरूको हकअधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु यसको ध्येय रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad