जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गरे।
‘नीति तथा कार्यक्रम वास्तवमा राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरुले पनि धान्या हो,’ यादवले भने, ‘नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन। यसले के गर्नु, बुक बाँड्ने, टिका टिप्पणी बाहेक के हुनेवाला छ? औचित्य के छ?’
नीतिगत आधारमा हेर्दा नीति र कार्यक्रमको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको उनको मत छ। ‘नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ,’ यादवको भनाइ छ, ‘तर समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ। नवउदारवाद र समाजवाद एक अर्काका विपरित कुरा हुन्।’
अध्यक्ष यादवले समाजवादउन्मुख भएको भए उपभोक्ता वर्ग, गरिव, किसान, मजदुर, सर्वहारा, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे।
Shares

प्रतिक्रिया