नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।
संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार सात बुँदे सम्झौताको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका हुन्।
संविधानको पुनरावलोक, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ।
उनले संविधान पुनरावलोकन गर्न समय लाग्ने भएपनि सरकार गठनको ९ महिनासम्म प्रारम्भ नगरिएको बताए। उनले संविधान पुनरावलोकन गर्न संसदमा रहेका सबै दल र सरोकारवालालाई समेत समावेश गरेर अघि बढ्न सक्नुपर्ने बताए।
उनले भने, ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो। सात बुँदाहरुमा रहेका संविधानको पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार गर्ने कुरा, भ्रष्टाचारलाई निर्मुल गर्ने कुरा, दण्डहिनताको अन्त्य गर्ने र सुशासन दिने कुरामा सरकार चुकेको छ। र संविधानमा पुनरावलोकन गर्ने कुरामा चाहिँ नेपाली कांग्रेस र एमालेको दुई तिहाई छ भनेर बनाउने होइन। संसदभित्र रहेका सबै दलहरुको प्रतिनिधित्व गरिकन सरोकारवालाहरुको समावेश गरेर जानुपर्छ। संविधान पुनरावलोकन गर्ने कुरा समय लाग्ने कुरा हो। तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो।’
उनले सरकारको बारेमा कांग्रेसभित्र कुनै समस्या नरहेको समेत स्पष्ट पारे। वर्तमान सरकारलाई असफल हुने छुट नभएपनि सँगै भएका दलहरुबीच पालिकास्तरसम्म संयन्त्र बनाउनु गलत रहेको उनको टिप्पणी छ।

प्रतिक्रिया