सुदूरपश्चिम


माओवादी संसदीय दलको नेता फेर्न प्रचण्डले दिएको निर्देशन अटेर, सुदूरपश्चिमका नेतालाई बोलाए काठमाडौँ

माओवादी संसदीय दलको नेता फेर्न प्रचण्डले दिएको निर्देशन अटेर, सुदूरपश्चिमका नेतालाई बोलाए काठमाडौँ

गोकुल जोशी
बैशाख २२, २०८२ सोमबार १७:२९, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्टलाई पुनर्बहाली गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएको निर्देशनको अवज्ञा भएको छ।

अध्यक्ष प्रचण्डले पटक पटक लिखित र मौखिक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेर अलपत्र राखिएको छ। दाहालको निर्देशन बमोजिम भट्टलाई दल नेतामा पुनःस्थापित नगराइपछि सुदूरपश्चिमका  माओवादी सांसदलाई काठमाडौँ बोलाइएको छ।

निर्देशन कार्यान्वयन नभएपछि सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने माओवादीका १० सांसदलाई दाहालले छलफलका लागि ‘हेडक्वाटर’ बोलाएका हुन्।

‘पटक पटकको निर्देशन कार्यान्वयन भएको छैन। पार्टीको निर्देशन अवज्ञा भएपछि अध्यक्ष कमरेडले गम्भीर रुपले लिनुभएको छ,’ सुदूरपश्चिम प्रदेश सभाका सांसद रमेश धामीले भने। उनका अनुसार २४ वैशाख बिहान सबै सांसदलाई ‘हेडक्वाटर’ बोलाइएको हो।  

अध्यक्ष दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएपछि सांसद त्यतातिर गइरहेका छन्। 

सशस्त्र युद्धदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आइपुग्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई हाँक दिने नेता अहिलेसम्म देखिएका छैनन्। पार्टीभित्र प्रचण्डविरुद्धको फरक मत व्यापक रहे पनि त्यसलाई मत्थर पार्दै प्रचण्ड सर्वेसर्वा छन्। 

यही बीच प्रचण्डका लागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दल नेताको विवाद टाउको दुखाइको विषय बनेको छ। कयौँपटक मौखिक र लिखित रुपमा दल नेताको विवाद सल्ट्याउन प्रचण्डले दिएको निर्देशन पालन भएको छैन।

पछिल्लो पटक दाहालले सांसदहरूलाई आफू कैलाली पुग्नुअघि दल नेताको विवाद साम्य पार्न निर्देशन दिएका थिए। तर त्यसपछि दाहाल २ पटक कैलाली पुगिसके तर निर्देशन कार्यान्वयन भएको छैन।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले दुईपटक लिखित रुपमा खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दल नेतामा पुनर्स्थापित गर्न निर्देशन दिए पनि कार्यान्वयन नभएको हो।

एक वर्ष बितिसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन। २०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाइएको थियो।

धामी पक्षले बहुमत जुटाएर दल नेता फेर्नु पर्ने अडान राखेको छ। संसदीय दल नेताबाट भट्टलाई हटाउँदा सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।

अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५–५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।

मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्। 

चुनावताका सुदूरपश्चिमको मुख्यमन्त्रीको रुपमा खगराजलाई प्रस्तुत गरिएको थियो।

माओवादी सुदूरपश्चिमको इन्चार्ज समेत रहेका उनलाई दल नेताबाट हटाएपछि पाखा पारिएका खगराज अहिले माओवादी सुदूरपश्चिममा खाली हात छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad