नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नदि क्षेत्रमा धेरै नेपाली भूमि भारततिर पारेर भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सरकारको ध्यानकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले दार्चुलाको महाकाली गाउँपालिकाको वडा न.४ र ५ मा नेपाली भूमि मिचेर तटबन्ध बनाइरहेको बताए।
‘२०७० सालमा धेरै ठूलो बाढी महाकाली नदिमा आयो, त्यसले दुवैतिरको सीमा क्षेत्रमा ठूलो क्षति भएको छ,’ बडूले भने, ‘महाकाली नगरपालिकाको ४ र ५ नम्बर वडामा सरकारी कार्यालय पनि थिए। त्यो कार्यालयसहितको भूभाग नदिको धार परिवर्तन हुँदा भारततिर गएको अवस्था हो। र, अन्य कुनै ठाउँमा भारतको जमिन हाम्रो ठाउँमा पुगेको अवस्था पनि थियो।’
यो तटबन्ध निर्माण गर्दा भारतले नेपालसँग कुनै समन्वय समेत नगरेकाले विवाद भएको उनले जानकारी दिए। ‘यो बाढी आइसकेपछि तटबन्ध निर्माण गर्दा समन्वय हुन नसकेको भन्ने देखिन्छ,’ बडूले भने, ‘अहिले त्यो तटबन्धका कारण धेरै ठूलो जमिन पारी गइसकेको अवस्था छ। भारतले नदिलाई नेपालतिर फर्काउनेगरी तटबन्धको काम थालेपछि जनस्तरमा पनि विरोध भयो।’
यसबारे तत्काल कूटनीतिक पहल थालेर समस्या समाधान गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराए। ‘कूटनीतिक पहलमार्फत यो समस्या समाधान गर्नका लागि सरकार तत्काल लागोस्,’ बडूले भने, ‘यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ। त्यसो गरिएन भने परिस्थिति अझ बिग्रने हामीले देखेका छौँ।’
Shares

प्रतिक्रिया