नेकपा एमालेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम चुस्त रहेको निष्कर्ष निकालेको हो।
बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताए। उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा ग्रहण गरेको जानकारी पनि दिए।
सांसदहरूले पनि ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको उनले बताए। विगतका सरकारहरूले सुरु गरेका १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको र स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरूको सुझाव रहेको उनको भनाइ थियो।
संघीय सरकारले राष्ट्रिय स्तरका रणनीतिक आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरू प्रदेश र स्थानीय सरकारको स्वामित्वमा सर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनले बताए।
‘नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशानिर्देशको हिसाबले पनि सही भएको बैठकले निष्कर्ष निकालेको छ,’
उपमहासचिव ज्ञवालीले भने,‘त्यसलाई समर्थन गर्दै सकारात्मक रूपमा ग्रहण गर्दै नेता कमरेडहरूले आगामी बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिनुभएको छ। मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि एकदमै ठोस र परिणामुखी होस्, विगतमा योजनाहरूको छनोट, स्रोतहरूको विन्यास र योजनाहरूको प्रथमिकीकरणम धेरै भद्रगोल देखिएको छ। संघ सरकारसँग झन्डै १८ हजार योजनाहरू छन् र खरबौँ रुपैयाँको दायित्व बाँकी रहने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाएको अवस्था छ। यो अव्यवस्थालाई चिर्दै बजेट ल्याइयोस्, संघ सरकारले राष्ट्रिय स्तरका रणनीतिक कुराहरूमा बढी फोकस गरोस्, बाँकी कुरा प्रदेश र स्थानीय तहलाई छोडोस् भन्ने तहमा नेताहरूले विशेष जोड दिनुभएको छ।’
उपमहासचिव ज्ञवालीले नेताहरूले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए। उनका अनुसार, किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने विषयमा बैठकमा चर्चा भएको थियो। सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरूको छ।
‘यो बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्छ,’ उनले बैठकमा भएको छलफलबारे जानकारी दिँदै भने, ‘त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्गको समानान्तर, मदन भण्डारी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरू, त्यसका सघन क्षेत्रहरू निर्माण गर्ने र किसानहरूलाई जमिन, प्रविधि, बजार र बचतको इकोसिस्टमभित्र ढालेर उहाँहरूको आम्दानी बढाउने र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट केन्द्रित होस् भन्ने पनि सुझाव प्राप्त भएको छ। त्यसैगरी, नीति तथा कार्यक्रममा जेन जी पुस्तालाई केन्द्रबिन्दुमा राखेर उद्यमशीलता उद्यमको इकोसिस्टम निर्माण गर्ने भनिएको छ, त्यो कुरालाई फोकस गर्दै उहाँहरूसँगै बस्दै उहाँहरू के चाहनुहुन्छ र कठिनाइ के हो भनेर सूचना प्रविधिलाई विकासको महत्त्वपूर्ण उत्तोलकको रूपमा, इनेबलरको रूपमा कसरी अगाडि बढाउन सकिन्छ, उहाँहरूकै साझेदारीमा सूचना प्रविधिको जुन अथाह सम्भावना छ, त्यसलाई ढोका खोल्ने गरी यो बजेटले ध्यान दिनुपर्छ भन्ने कुरामा सुझाव आएको छ।’
उपमहासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरू कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको जानकारी पनि दिए।
Shares

प्रतिक्रिया