सत्तारुढ नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशिल भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ।
आइतबार च्यासलमा बसेको सचिवालय बैठकले त्यसका बाबजुद पनि देश स्थिरतातिर गइरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
आगामी चुनावमा बहुमत प्राप्त गर्नका लागि सम्पूर्ण ऊर्जा लगाउने निर्णय गरेको एमालेले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरेरको सरकारलाई धन्यवाद समेत दिएको छ।
भूराजनीतिलाई ख्याल गरेर बजेट ल्याउन सुझाव
त्यस्तै बैठकले अन्तर्राष्ट्रिय भूराजनीतिका कारण सहयोग कटौती हुन थालेको भन्दै त्यसलाई ख्याल गरेर बजेट ल्याउन समेत सरकारलाई सुझाव दिएको छ।
‘अन्तर्राष्ट्रिय भूराजनीतिले गर्दा कतिपय सहयोग कटौती भएका छन्,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने, ‘ठेक्का लागेकै पनि कतिपय दाताहरु हात झिक्नेखालको कुरा गरिरहेका छन्। त्यसले एउटा ठूलो स्रोतको अभाव हुनेदेखिन्छ। त्यो कुरालाई पनि ध्यानमा राखेर योजनाको प्राथमिकीरकण गर्नुपर्छ भन्ने सुझाव दिएका छौँ।’
सूचना प्रविधि क्षेत्रमा धेरै नै सम्भावना भएको भन्दै त्यसको ढोका खोल्नेगरी बजेट ल्याउन पनि बैठकले सुझाव दिएको छ। यसबारे उनले भने, ‘सूचना प्रविधिको जुन अथाह सम्भावना छ। त्यसलाई ढोका खोल्नेगरी यो बजेटले ध्यान केन्द्रित गरेर बजेट आउनुपर्छ भन्ने सुझाव दिइएको छ।’
बैठकमा नेताहरुले बोल्न बाँकी रहेकाले छलफल निरन्तर जाने ज्ञवालीले बताए।
Shares

प्रतिक्रिया