राजनीति


किट कलेजमा नेपाली छात्राको मृत्युबारे राष्ट्रिय सभाको ध्यानाकर्षण, सरकारसँग माग्यो जवाफ

किट कलेजमा नेपाली छात्राको मृत्युबारे राष्ट्रिय सभाको ध्यानाकर्षण, सरकारसँग माग्यो जवाफ

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८२ आइतबार १३:५४, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययरत छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

गत बिहीबार कलेजकै छात्रावास कोठामा झुण्डिएको अवस्थामा फेला परेकी साहको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष दाहालले सरकारले जवाफ दिनुपर्ने बताएका हुन्।

‘आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रिशा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकमा उनले भने, ‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुःखद् पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिरहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन, साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु। साथै आकस्मिक समयमा माननीय सदस्यहरूले उठाउनु भएका अन्य विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आई जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्दछु।’

बैठकमा सांसदहरूले किट कलेजमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका थिए। साथै, उनीहरूले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि जोड दिएका थिए।

सभाको आकस्मिक समयमा उनीहरूले किट कलेजमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad