गत बुधबार मुलुकमा देखापरेका विभिन्न समस्या समाधान र सरकारले ल्याउने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट सुझाव दिन बालुवाटार पुगेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १५ जनाको टोलीलाई प्रधानमन्त्री केपी ओलीले खुला प्रस्ताव गरे– ‘कोर टिम बनाएर छलफल गरौँ।’
ओलीले गरेको ‘कोर टिम’को प्रस्तावले राजनीतिक वृत्तमा एक किसिमको तरंग ल्यायो। एमालेबाट व्यापक असहमति र आक्रोशसँगै टुटेर बनेको पार्टीलाई उनले यो प्रस्ताव गरेपछि अहिले सर्वत्र प्रश्न उठिरहेको छ– यसबाट ओलीले दिन खोजेको राजनीतिक सन्देश के हो?
भेटघाटमा सहभागी भएका एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला भने अहिलेको राजनीतिक घटनाक्रमका सन्दर्भमा कोर टिम बनाएर छलफल गर्न प्रस्ताव आएको बताउँछन्।
‘खासमा हामीले दिएका माग पत्रका सन्दर्भमा कोर टिम बनाएर छलफल गरौँ भन्नुभएको हो,’ नेपालखबर ‘तत्कालै’मा शुक्रबार ज्वालाले भने, ‘त्यो बन्ला नबन्ला, कुरै त हो। अहिले प्रतिगामी, राजावादी र पश्चगामी शक्तिहरूले जुन चलखेल र उपद्रो गरिरहेका छन् र जसरी व्यवस्थामाथि प्रहार गरिरहेका छन्, त्यस्ता शक्तिलाई ठेगान लगाउन हामी कसरी जान सक्छौँ भन्ने कुरा भए। ती विषयहरूमा हामी सानो कोर टिममा बसेर छलफल गरौँ भन्ने कुरा गर्नुभयो।’
तर के ओलीले एकीकृत समाजवादीका मागमा छलफल गर्न नै कोर टिमको प्रस्ताव गरेका हुन् त?
कोर टिम बनाउन एकीकृत समाजवादी पनि सकारात्मक देखिएपछि यसलाई राजनीतिक विश्लेषकहरूले ओलीसँग सम्बन्ध सुधारको प्रयास भनेर व्याख्या गरिरहेका छन्। ठ्याक्कै के हो त?
‘सम्बन्ध एकदमै बिग्रिएको या सुधार्नुपर्ने भन्ने पनि लाग्दैन,’ ज्वाला भन्छन्, ‘एउटा स्थितिमा हामीले विद्रोह गर्यौँ। तर सम्बन्ध बिगारिरहनुपर्छ भन्ने पनि छैन। चैतमा हाम्रो पार्टी कार्यालयमा राजावादीहरूले आक्रमण गर्दा उहाँहरू आउनुभयो। एउटा आइसब्रेकजस्तो भेटघाट भयो, संवाद भयो। हामीले निश्चित उद्देश्यले ज्ञापन पत्र दियौँ, त्यसमा खुलस्त राष्ट्रका सवाल र समस्यामा कुराकानी भयो, सम्बन्ध सहज बन्दै छ भन्ने हिसाबले पनि बुझ्दा हुन्छ।’

एकीकृत समाजवादीभित्रै धेरै नेता तथा कार्यकर्ता एमालेसँग एकताको पक्षमा देखिन्छन्। बालुवाटारको भेटघाट र कोर टिमको प्रस्तावले एकताको बाटो खोल्न सक्ने टिप्पणीसमेत भइरहेको छ। तर, ज्वाला एकदुईपटकको भेटले पार्टी एकता नहुने बताउँछन्। यद्यपि ढोका बन्द नभएको पनि स्वीकार्छन्।
‘(केपी ओली र माधव नेपाल) एकचोटि भेट भएर, दुइचोटि अनुहार हेराहेर हुँदैमा पार्टी एकता सम्भव हुँदैन,’ ज्वालाले भने, ‘वाम एकता हामीले नीतिगत रूपमा भन्दै आइरहेका छौँ। विचार, नीति र कार्यदिशामा जो स्पष्ट छ, त्योसँग हाम्रो एकता हुन सक्छ। एमालेले करेक्सन गरेर आएपछि हाम्रो एकता हुन सक्छ। करेक्सन भएर आउँदा जुनसुकै कम्युनिस्ट दलसँग एकता हुनसक्छ। ढोका बन्द भएको छैन।’
कोर टिम बन्यो भने त्यसले एकताको बाटो पनि खोल्ला नि?
‘कोर टिम पार्टी एकताका लागि बन्ने होइन,’ जवाफमा ज्वाला भन्छन्, ‘छलफल हुँदै गएपछि सबैले हिजोका गल्ती नदोर्याउने, कमजोरी आत्मसमीक्षा गर्ने र यो आन्दोलनका निम्ति हामी मिलेर जाऊँ, एक ढिक्का भएर जाऊँ भन्ने चेत सबैमा आयो भने एकता असम्भव कुरा छैन।’
यतिखेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली सरकार ढल्ने रटान दोर्याइरहेका छन्। एकीकृत समाजवादी भने यसमा मौनजस्तो देखिन्छ। हामीले ज्वालालाई सोध्यौँ– तपाईंहरू चाहिँ हेरेको हेर्यै मात्र हो कि पृष्ठभूमिका सरकार ढाल्ने कसरतमा सहभागी हुनुहुन्छ?
जवाफमा उनले प्रधानमन्त्री ओली आफै सरकार ढल्छ भनेर तर्सिरहेको जस्तो देखिएको बताए।
‘प्रधानमन्त्री आफै ढलेँ ढलेँ भनेर गीत गाएको गाएकै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आफै पनि यो सरकार ढल्छ कि भनेर मनोवैज्ञानिक हिसाबले तर्सिरहेको हो कि? नत्र प्रधानमन्त्री आफैले ढलेँ ढलेँ भनेर गीत गाइरहनु पर्दैन। अनि यति महिनापछि शेरबहादुर देउवालाई प्रधानमन्त्री दिन्छु भनिरहनु पर्दैन। एउटा सम्झौता भएको छ, त्यसलाई लागू गरे भइहाल्यो। सरकार आफै पनि तर्सिरहेको जस्तो, कति बेला ढलिन्छ कि क्या हो, नढल्न के गर्ने हो भनेर सतर्कता मात्रै अपनाइरहेको जस्तो देखिन्छ।’
प्रचण्डले गरिरहेको टिप्पणीको आधार पनि प्रष्ट नभएको उनको भनाइ छ।
‘प्रचण्ड पनि भाषण गर्न माहिरै हुनुहुन्छ, त्यसैले यो सरकार ढल्छ भनिदिनुहुन्छ, के आधारमा ढल्छ थाहा छैन,’ एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वाला थपे, ‘कांग्रेस र एमालेबीचमा अन्तरविरोध नभएसम्म अथवा यो गठबन्धन ब्रेक नभएसम्म प्राविधिक हिसाबले सरकार ढल्दैन। संख्यामा त कुनै समस्या छैन। तर, हामीलाई यो चासो छैन। हामीलाई सरकार ढले हुन्थ्यो भनेर धुप हालेर बस्नु पनि छैन। सरकार ढाल्नका निम्ति अनेक कसरत गर्नुपर्ने पनि छैन।’

‘नीति तथा कार्यक्रम सुनेर सबै निदाए’
नेपालखबर ‘तत्कालै’ मा वार्ता गर्न शुक्रबार सरकारको नीति तथा कार्यक्रम सुनेर संसद भवन बानेश्वरबाट सिधै नेपालखबर कार्यालय थापाथली आएका ज्वालाले नीति तथा कार्यक्रममा कुनै ‘चार्म’ नभएको टिप्पणी गरे।
‘राष्ट्रपतिले पढ्नुभएको नीति तथा कार्यक्रममा कुनै आकर्षण, नयाँ पन, राष्ट्रनिर्माणका लागि अपिल केही पनि देखिएन,’ उनले भने, ‘कागजको खोस्टोजस्तो मात्रै छ। सरकारले यो एउटा नयाँ कुरा ल्यायो है भन्ने ठाउँ केही भएन। करिब एक घन्टा १० मिनेटको त्यति लामो भाषणमा सत्ता पक्षका दुईजनाले ताली बजाउने स्थिति भएन। सबै निदाए। दर्शकहरू पनि निदाए। सांसदहरू पनि निदाए। यस्तो निराशाजनक कि कुनै आकर्षण नै छ। यो नीति तथा कार्यक्रमजस्तो पनि लागेन। कागजको पुलिन्दाजस्तो देखियो।’
एकीकृत समाजवादीले माग गरेका विषय पनि कार्यक्रममा नसमेटिएको उनको भनाइ छ।
‘हामीले माग गरेका विषय सम्बोधन भएन,’ उनले भने, ‘सामान्यतया काकताली पनि पर्न सक्छ। खासमा हामीले जुन महत्त्वका साथ रोजगारी, सुशासन र कृषिका विषय ठाएका थियौँ, त्यो सम्बोधन भएन। यसले कुनै पनि क्षेत्रलाई उत्साह दिएन। पुरानै नीति तथा कार्यक्रमको कपी पेस्टजस्तो देखियो।’
ज्वालालाई हामीले सोध्यौँ– ओलीसँग सम्बन्ध राम्रो नभए पनि बेलाबेला माग पत्र लिएर गइरहनुहुन्छ। तपाईंका कुरा कत्तिको सुन्नुहुन्छ उहाँले?
जवाफमा उनले भने, ‘उहाँले कुरा त मिठै गर्नुहुन्छ। अस्ति पनि न्यानो स्वागत गर्नुभयो। तपाईंहरूको यो तरिका ठिक छ, धन्यवाद छ, यसलाई म अध्ययन गर्छु, सकेसम्म नीति कार्यक्रममा नसके बजेटमा समावेश गर्छु, भन्नुभयो। छलफल सौहार्द्रपूर्ण नै भयो। तर, एउटा भनाइ छ नि, कुराले चिउरा बिज्दैन भनेजस्तै। कुरा मिठा र चिप्ला छन् तर व्यवहारमा ठिक उल्टो छ।’
हेर्नुस्, एमाले–एकीकृत समाजवादी एकता सम्भावना, विद्या भण्डारीको राजनीतिमा कमब्याक लगायत विषयमा प्रकाश ज्वालासँग नेपालखबर ‘तत्कालै’ :
तस्बिर/भिडिओ: सौगात दाहाल

प्रतिक्रिया