प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन्।
प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेको उनको भनाइ छ। ‘शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ,’ ओलीले भने, ‘उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन्। हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ। यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ।’
रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने भन्दै उनले भने, ‘हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो। बलिदानबाट निस्किएका झण्डाहरु राता हुन्छन्। हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ। हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ।’
Shares

प्रतिक्रिया