राजनीति


एमाले अछाम अधिवेशनप्रति भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना

एमाले अछाम अधिवेशनप्रति भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना

भीम रावल र केपी शर्मा ओली


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ७:४, काठमाडौँ

आफू पार्टीबाट निकालिएपछि गृहजिल्ला अछाममा पहिलोपटक भएको नेकपा एमालेको अधिवेशनमा निर्विरोध नेतृत्व चयन गरिएकाप्रति नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन्। 

यही वैशाख १३ देखि ४ दिनसम्म चलेको एमाले अछामको जिल्ला अधिवेशनले अध्यक्षमा शिवप्रसाद उपाध्यायलाई निर्विरोध चुनेको हो। 

वैशाख १४ गते सुरु भएको बन्दसत्रले एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सिना, पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुँवर रहेको अध्यक्ष मण्डलले सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित गराएको हो।

आंकाक्षी धेरै भएपछि सुरुमा चुनाव गराउने भनिए पनि अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन्।

जसअनुसार एमाले अछाम जिल्ला कमिटीमा तिलक कुँवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव भएका छन्। 

जसलाई निष्कासित नेता रावलले टिके चलनको निकृष्ट नमुना भनी टिप्पणी गरेका हुन्। 

‘जनताको बहुदलीय जनवादलाई बामाले ओलीवादमा च्युत गरिएको पछिल्लो भद्दा उदाहरण अछाम जिल्ला अधिवेशनमा तीन दिनसम्म चुनावको प्रक्रिया हुन नदिएर अन्तमा चारजनाले स्वेच्छाचारी किसिमले पदाधिकारी र सदस्यहरूको नाम सुनाएको घटनामा छताछुल्ल भएको छ’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘टिके चलनको निकृष्ट नमुना!’

मूलत: अध्यक्ष केपी शर्मा ओलीकै आलोचना गरेका कारण रावललाई एमालेले २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो।

त्यसयता उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेका छन्। तर आफ्नो पुरानो पार्टी एमाले र यसका अध्यक्ष ओलीको आलोचना गर्न छाडेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad