हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट नेपालतर्फ भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव नेपालको मौसमी प्रणालीमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। काठमाडाैँ उपत्यकामा पनि अहिले हल्का वर्षा भइरहेकाे छ।
आज दिउँसो पनि देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मेघ गर्जन र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्नको लागि आवश्यक तयारी तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया