राजनीति


शिक्षा-स्वास्थ्यबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल नभएको भन्दै विपक्षी दलको आपत्ति

शिक्षा-स्वास्थ्यबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल नभएको भन्दै विपक्षी दलको आपत्ति

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ११:४४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आफूले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल नभएको भन्दै आपत्ति प्रकट गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तकै विपक्षी दलहरू उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेले आफूहरूको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची नराखेकोबारे सभामुखसँग बुझ्दा सरकारका मन्त्रीहरूले समय दिन नभ्याएकाले भन्ने जवाफ पाएको भन्दै सरकार संसद्प्रति गैरजिम्मेवार भएको आरोप लगाए।

‘आज हामीले सर्मथक, प्रस्तावकसहित गएर सम्मानीयसमक्ष किन कार्यसूचीमा गएन भन्दा सम्माननीयज्यूले सरकारको तर्फबाट मन्त्रीहरूले समय दिन नसकेका कारणले भन्नुभयो,’ पाण्डेले भने, ‘हामीलाई लाग्यो कि संसद्प्रति सरकार कति गैरजिम्मेवार छ। आम जनताको समस्याप्रति सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भइरहेको छ।’

उनले आफूहरूको प्रस्तावमाथि छलफल हुनुपर्ने माग गरे। पाण्डेले भने, ‘जरुरी महत्वको सार्वनिक प्रस्ताव हामीले दर्ता गराएका छौँ, त्यसमाथि संसद्मा छलफल हुनुपर्छ।’

आन्दोलनरत शिक्षकसँगै पेसागत हकअधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई सरकारले बेवास्ता गरेको जनाउँदै सदनमा यस विषयमाथि छलफलका लागि प्रतिनिधिसभाको सचिवालयमा सोमबार प्रस्ताव दर्ता गराएका थिए।

प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad