राजनीति


ब्यांककबाट फर्किएपछि मन्त्री राणाको प्रतिक्रिया- सरकार परिवर्तनका खबर मनोरञ्जनका लागि

ब्यांककबाट फर्किएपछि मन्त्री राणाको प्रतिक्रिया- सरकार परिवर्तनका खबर मनोरञ्जनका लागि

थाइल्यान्डको ब्यांककमा आयोजित संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१औँ सत्रको अध्यक्षता गरी स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री आरजु राणा। तस्बिर: रासस


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १४:१५, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि चलाइएको भनी टिप्पणी गरेकी छन्।

थाइल्यान्ड भ्रमण (वैशाख ८-१२) बाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मनोरञ्जनका लागि सरकार परिवर्तनका खबर आउने गरेको बताएकी हुन्।

आरजुले सरकार परिवर्तनको हल्ला मनोरन्जनका लागि चलाइएको बताइन्। 

‘मनोरन्जनका लागि बेलाबेला यस्ता समाचार आउँछन्। सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला। विदेशमा बसेर त सरकार परिवर्तन हुँदैन। हामी पनि समाचार हेरेर छक्क भएका थियौँ।’

गत आइतबार (वैशाख ७ गते) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री राणा सपरिवार थाइल्यान्डको बैंकक गएका थिए। 

संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी राणा ब्यांकक गएकी थिइन्। उनका श्रीमान् एवं कांग्रेस सभापति देउवा भने स्वास्थ्योपचारका लागि गएको भनिएको थियो।

त्यहाँ कुनै राजनीतिक भेटघाट नभएको पनि राणाले प्रस्ट पारिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार परिवर्तनका खबरबारे टेलिफोनबाट सोधेको तर देउवाले त्यसबारे अनभिज्ञता प्रकट गरेको राणाले बताइन्।

‘हिजो प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच फोनमा कुरा भएको थियो। प्रधानमन्त्रीज्यूले सरकार परिवर्तनको हल्लाबारे केहो भनेर सोध्नुभएको थियो,’ देउवा र ओलीको कुराकानीबारे उनले भनिन्, ‘उहाँले (देउवा) ले के हो के हो भन्नुभयो।’

कांग्रेस सभापति देउवाले पनि सत्ता गठबन्धनमा कुनै समस्या नभएको प्रतिक्रिया विमानस्थलमै दिए।

परराष्ट्रमन्त्री औपचारिक पत्रकार सम्मेलन कार्यक्रममा देउवा उपस्थित नभए पनि गाडी चढ्ने क्रममा उनले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका थिए। 

सञ्चारकर्मीहरूले ‘गठबन्धनमा केही समस्या भएको हो?’ भनी सोधेपछि देउवाले भने, ‘त्यस्तो केही भएको छैन।’

‘सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि?’ भनेर सोधिएको प्रश्नमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad