राजनीति


बर्खास्त मन्त्री तामाङसँग नेपालखबर ‘तत्कालै’: अहिले कांग्रेस देउवाले होइन, केपी ओलीले चलाइरहेका छन् (भिडिओ)

‘कुलमान हटाउनुहुन्न भनेकै कारण ओलीले विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारे’

अनिल यादव
बैशाख ११ , काठमाडौँ

स्वास्थ्योपचारका लागि आइतबार (७ वैशाख) थाइल्यान्ड जाँदै गर्दा आफूलाई विमानस्थलमा बिदाइ गर्न आएका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए– ‘कुलमानलाई हटाइहाल्यो, अब चुप लाग है!’

जवाफमा तामाङले भने, ‘कुलमान हटाएपछि मैले कहाँ बोलेको छु दाइ?’

त्यसको केही दिनअघि नै परराष्ट्रमन्त्री आरजु राणाले संसद् भवनभित्रै तामाङ बसेको सिटनजिकै आएर भनेकी थिइन्, ‘तपाईंसँग प्रधानमन्त्री साह्रै रिसाउनुभयो कुलमानको विषयमा। एकपटक गएर माफी माग्नुस्।’

मन्त्रिपरिषदभित्र नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुहुन्न भनेर खुलेर बोलेका तामाङ कहाँ टेर्थे र!

जवाफमा उनले भनिदिए, ‘म केपी ओलीले बनाएको मन्त्री होइन, नेपाली कांग्रेसले बनाएको मन्त्री हो। ओलीसँग माफी मागेर म मन्त्री खान्नँ।’

बुधबार दिउँसो ४:२३ बजे गृहमन्त्री रमेश लेखकले राज्यमन्त्री पूर्णबहादुर तामाङलाई फोन गरेर भने, ‘प्रधानमन्त्रीले राजीनामा माग्नुभयो, तपाई‌ंले राजीनामा दिनुपर्छ।’

तामाङले मानेनन्।

‘मैले प्रधानमन्त्रीले मागेर राजीनामा दिने होइन, पार्टीले बोलायो भने फिर्ता हुन तयार छु, राजीनामा दिन सक्दिनँ,’ यति भनेर उनले फोन राखिदिए। 

साँझ प्रधानमन्त्री केपी ओलीले तामाङलाई राज्यमन्त्री पदबाट बर्खास्त गरेको खबर बाहिरियो।

मंगलबार राति राम्रो सपना नदेखेका उनी बुधबार मन्त्रालय नै गएका थिएनन्, घरमै बसिरहेका थिए। राज्यमन्त्री तामाङ पदबाट बर्खास्त भएको खबर आएपछि नेपालखबरको टिम तत्कालै काठमाडौँ गौरीघाटस्थित उनकै निवास पुग्यौँ। तारन्तार उनलाई सान्तवानाको फोन आइरहेका थिए। तर, आफू रत्तिभर दुःखी नभएको जवाफ दिइरहेका थिए तामाङ।

नेपालखबर ‘तत्कालै’का लागि कुराकानी गर्न पुगेको हाम्रो टिमसँग तामाङले भने, ‘गृहमन्त्रीसँग मेरो राजीनामा माग्ने हैसियत छैन। पार्टी सभापति शेरबहादुर देउवाले फिर्ता आउनुस् भनेर लिखित पत्र पठाएपछि मैले मान्ने हो।’

तर, अहिले नेपाली का‌ंग्रेस पार्टी सभापति देउवाले नभएर केपी ओलीले चलाइरहेको उनको आरोप छ।

‘हाम्रो नेपाली कांग्रेस पार्टीको सभापति नै केपी ओलीले चलाएका छन्,’ तामाङले भने, ‘नचलाएको भए त आज मलाई फिर्ता हुनु भनेर पार्टीले भन्नुपर्ने नि। आज पार्टी सभापति हुनुहुन्न। कार्यवाहक सभापतिलाई थाहा छैन। अनि नेपाली कांग्रेस पार्टी सभापति अहिले कसले चलाएको छ भन्दा केपी ओलीले चलाएको छ। अनि केपी ओलीले हटाइदिनुभयो।’

कुलमानलाई समर्थन गरेकै कारण ओलीले आफूलाई हटाएको उनको दाबी छ।

‘प्रधानमन्त्रीको शासनमा म बस्न सकिनँ। केपी ओलीको शासन जंगबहादुरको जस्तो रहेछ,’ थप आक्रोशित हुँदै तामाङले भने, ‘सिधा मुख हेर्दा पनि कारबाही गर्ने रहेछन्। तर उहाँले निकालेकोमा म एकदमै खुसी छु।’

‘कुलमान मेरो जिल्लाको मान्छे हो तर खासै चिनजान होइन,’ आफूले कुलमानलाई साथ दिनुको कारण खोल्दै तमाङले भने, ‘नेपाल विद्युत प्राधिकरणको एमडी भएपछि उहाँले ४६ दिनमा काठमाडौँ र पोखरामा १८ घन्टाको लोडसेडिङ हटाइदिनुभयो। उहाँले धाराको पानी खोलेर लोडसेडिङ हटाएको त होइन होला। धागो तानेर लोडसेडिङ हटाएको होइन होला। कुलमानजस्तो मानिसलाई तीन महिनाका लागि नहटाइदिनुस् भन्दा आज ओलीले मैमाथि प्रहार गर्नुभयो। तर म खुसी छु। तीन महिनापछि मैले छोड्नैपर्ने थियो। पार्टी सभापतिले एक–एक वर्षमा पालो गर्ने है भन्नुभएको थियो। कुलमानजस्तो बत्ती बाल्ने जनजातिको छोरालाई निकाल्नुभयो, धन्यवाद। म पनि नेपाली कांग्रेसको रामेछाप जिल्ला अध्यक्ष, टीका लगाएर होइन चुनाव लडेर जितेको सांसद हुँ नि।’

प्रधानमन्त्री ओलीले उनकै पार्टीबाट शिक्षामन्त्री बनेकी विद्या भट्टराईलाई पनि कुलमानलाई समर्थन गरेकै कारण राजीनामा दिन बाध्य पारेको तामाङको दाबी छ।

‘विद्या भट्टराईलाई किन हटायो थाहा छ तपाईंलाई?’ तामाङले भने, ‘कुलमान घिसिङ हटाउने दिनमा म मन्त्रीहरुसँग एकएक अपडेटमा थिएँ। कुलमान नहटाउनू, भोलि राम्रो हुँदैन भनेर शिक्षामन्त्री विद्या भट्टराईले भनेको हो। त्यो केसदेखि प्रधानमन्त्री ओलीले उहाँलाई आँखा लगाएको लगाएकै गरेपछि बाध्य भएर राजीनामा दिनुभएको हो। नपत्याए, एकदिन तपाईंले विद्या भट्टराईलाई सोध्नुस्, घरमा तीनपुस्ते र छोराछोरी सम्झिएर भन्नुस् भन्नु त, धर्म नछाड्ने इमान्दार मान्छेले पक्कै सत्य भन्नुहुनेछ।’

हेर्नुस्, बर्खास्तीमा परेका मन्त्री तामाङसँग नेपालखबर तत्कालै:

फोटो/भिडिओः विशाल कार्की

बैशाख १०, २०८२ बुधबार २२:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad