राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।
मंगलबार राष्ट्रियसभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने बताएका हुन्।
नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ। उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे। छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने उनको भनाइ थियो।
‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्यो। त्यसपछि बसेर योजना बनाउनुपर्यो। पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन। यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सयपटक उठबस गर्नेछु भनेर वाचा गराउनुपर्यो। यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यीनिहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ।'
Shares

प्रतिक्रिया