नौ वर्षपछि माओवादीमा फर्किएर उपाध्यक्ष बनेका नन्दबहादुर पुन पासाङको फूर्तिफार्ती नै बेग्लै छ। तराई–मधेस जनजागरण अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै उनी विभिन्न जिल्लामा पुगिरहेका छन्।
हरेक दिन प्रचण्ड मर्निङ वाकमा निस्किँदा उनीसँगै पार्टीका पदाधिकारीहरू पनि कुद्छन्। तर, पुन पूर्व जनमुक्ति सेनालाई लिएर प्रचण्डको अघिअघि हिँड्छन्।
२०७२ कात्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी २०७४ मा फेरि दोहोरिएका थिए। २०७९ चैत ६ गते उपराष्ट्रपतिको कार्यकाल सकिएको २२ महिनापछि गत पुसदेखि माओवादीको पदाधिकारी बैठकमा सहभागी हुन थाले। उनलाई उपाध्यक्षकै हैसियत दिइएको थियो।
यद्यपि, चैत २४ गते मात्रै औपचारिक निर्णय गर्दै तल्ला कमिटीलाई परिपत्र पठाएको थियो। पुन थपिएसँगै माओवादीमा वरिष्ठसहित पाँच उपाध्यक्ष भएका छन्। यो पनि विधान अनुकूल भने होइन। किनकि, माओवादी विधानमा वरिष्ठसहित ४ उपाध्यक्ष रहने प्रावधान छ।
आगामी असारमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय भइसकेको छ। त्यसो हुँदा अध्यक्षबाहेक सबै नेताको हैसियत आयोजक समिति सदस्य हुनेछ।
यो त पछिको कुरा भयो। हाललाई उपाध्यक्ष बनेर पार्टीको उत्पादन विभाग संयोजक बनेका पुनको वरीयताका विषयमा पार्टीमा चासो छ।
यसअघि सभामुख भएर फेरि पार्टी काममा सक्रिय भएका कृष्णबहादुर महरा र अग्नि सापकोटा उपाध्यक्ष नै छन्। सापकोटा त महाधिवेशन पछि मात्र उपाध्यक्ष नियुक्त भएका हुन्। उनीहरू दुवैलाई पम्फा भुसालभन्दा अगाडि राखिएको छ।
दुई कार्यकाल उपराष्ट्रपति भइसकेका ५९ वर्षीय पुनको उपाध्यक्ष वरीयता कति नम्बर होला त?
यसबारे चर्चा गर्नुअघि माओवादीको अध्यक्षदेखि उपाध्यक्षसम्मको रोलक्रम हेरौँ।
माओवादीको आधिकारिक वेबसाइट अनुसार पहिलो नम्बरमा प्रचण्ड छन्। त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम छ। तेस्रो नम्बरमा उपाध्यक्ष महराको नाम छ, चौथो नम्बरमा उपाध्यक्ष सापकोटा छन् र पाँचौँ नम्बरको उपाध्यक्षमा भुसाल छिन्।
वेबसाइटमा पुनको नाम अद्यावधिक गरिएको छैन। तर, उनी जिम्मेवारीमा फर्किएर पनि काम गरिररहेका छन्।
अध्यक्ष प्रचण्डनिकट एक नेताका अनुसार उपाध्यक्ष पुनको रोल नम्बर ४ हो।
‘उहाँ उपाध्यक्ष हो। महरापछि उहाँ नै हुनुहुन्छ भन्ने छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘अहिलेसम्म हेर्दा त्यही देखिन्छ।’
पुसयता बसेको माओवादीको पदाधिकारी बैठकलाई मात्र हेर्ने हो भने पनि मञ्चमा महरापछि पुन बसेका देखिन्छन्। प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पनि महरा लगत्तै पुन बसेको तस्बिर देखिन्छ। चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकमा पनि पुन महरापछि बसे।
अर्का पदाधिकारीले पनि महरापछिको वरीयतामा पुन नै रहने बताए। यद्यपि, औपचारिक निर्णय नगरिएको उनी बताउँछन्।
पूर्वउपराष्ट्रपति भएर पार्टी जिम्मेवारीमा फर्किएकोले पुनलाई वरिष्ठ उपाध्यक्ष लगत्तै राख्नेबारे पनि छलफल चलेको थियो। तर, पुनले त्यसो गर्न नचाहेको ती पदाधिकारी दाबी गर्छन्।
‘महरा आफ्नो गुरू भएकोले उहाँभन्दा अगाडि बस्न नचाहेको जानकारी दिनुभएको भन्ने सुनेको हो,’ ती पदाधिकारीले भने।
रोल्पामा महराले नन्दबहादुर पुनलाई पढाएका हुन्। माओवादी सचिव दीनानाथ शर्माले पनि वरियताको विषयमा चर्चा चलेको बताए।
‘उहाँ पूर्वउपराष्ट्रपतिबाट भरखरै राजनीतिमा फर्कनुभएकोले उपाध्यक्ष बनाइसकिएको छ तर, वरीयता कहाँनेर भन्ने निर्णय भइसकेको छैन,’ शर्माले भने।
माओवादीका स्थायी समिति सदस्य एवं पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले अहिलेसम्म वरीयता नमिलाएको बताए।
‘पार्टीमा औपचारिक मर्यादाक्रम बनेकै छैन। वरीयता कसैको पनि मिलाएको छैन। मिलाउनुपर्ने छ, पार्टीमा बनाउने कुरा हो,’ उनले भने।
असारसम्मका लागि वरीयता नतोक्न सक्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन्। तत्काल महाधिवेशन माग गरिरहेका उपमहासचिव जनार्दन शर्मालाई असारसम्म थुमथुम्याइरहेका प्रचण्डले यदि आयोजक समिति बनाए भने पुनको वरीयता नतोक्न पनि सक्छन्।
नौ वर्ष लाभको पदमा बसेर पुन किन पार्टीमा फर्किए? त्यो उनले खुलाएका छैनन्। प्रचण्डले पुनकै चाहनामा जिम्मेवारी दिइएको बताएका छन्।
सचिव शर्माका अनुसार पुन सांगठनिक रूपमा शक्ति परिचालित गरेर आएका हुन्। जिल्ला, क्षेत्र हुँदै तलैबाट उठेर केन्द्रीय समिति र स्थायी समितिसम्म भइसकेका थिए।
पार्टीभित्रका केही युवा नेता असन्तुष्ट हुँदाहुँदै पनि उपाध्यक्ष बन्न सफल भएका पुनको अबको उदेश्य के छ, स्पष्ट छैन। तर, अहिले आफ्नै चाहना अनुसार माओवादीमा जिम्मेवारी पाएकामा उनी खुसी छन् भन्ने त पार्टीमा उनको सक्रियताले पुष्टि गरिसकेको छ।
Shares

प्रतिक्रिया