सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरूले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताए।
नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरूमाथि प्रतिवन्ध लगाउन सकिने उनको भनाइ छ। उनले देशको स्वाभिमान विथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए।
फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताए। सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ।
उनले भने, ‘आज सोसल मिडिया प्लेटफर्म जस्लो चलाइरहेको छ नि जस्ले सञ्चालन गर्छ। त्यो सञ्चालन गर्नेहरूले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने? जस्तो मेटा भनौँ, गुगल, टिकटक... यिनीहरूले नेपालमा काम गर्ने भएपछि नेपालको कानून मान्ने कि नमान्ने? नेपालको संविधान मान्नु पर्ने कि नपर्ने? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने? उनीहरूले जे खालको कन्टेन्टहरू पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधिनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठूलो प्रभाव सिर्जना गर्यो भने त्यसलाई हामीले के गर्ने?’
मन्त्री गुरुङले थपे, ‘पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउ भनेर। अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन। मेटा जस्ले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैनर? सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन उसले। तेरो टोटल जिडिपी भन्दा त हाम्रो जिडिपी बढी, तेरो वार्षिक बजेट भन्दा हाम्रो धेरै गुणा बढी भन्ने उस्को घमण्ड छ, अहंकार छ। त्यो घमण्ड गरेर बस्यो भने प्रतिबन्ध लाग्छ मैले भन्देको छु। होइन हामी चल्छौँ भन्ने हो भने आउनु पर्यो।’
सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताए। उनले विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताए। उनले सामाजिक सञ्जालको दूरुपयोग गरी विदेशीहरूले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाए।
उनले भने, ‘धार्मिक सहिष्णुतको अनुमन उदाहरण कहीँ छ भने नेपालमै छ। यसैमा हमला भएको छ सामाजिक सञ्जालबाट। अनलाइन मिडियाको माध्यमबाट। त्यो कुरा त हामी सबैले स्वीकार्छौँ नि। १२४ भन्दा बढी भाषभाषीको मान्छे बस्छन् यहाँ, यति धेरै विविधता छ। डाइभरसिटीभित्र युनिटी खोज्ने कुरा त जसरी हामी मिलेर बसेका छौँ। सांस्कृतिक सदभाव छ, जातीय सद्भाव छ हाम्रो। यही जातीय सद्भावलाई भत्काउन खोज्दै छ। नेपालीलाई कमजोर बनाउन लागेका छन्।’
सञ्चारमन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकार महासंघलगायत सबै पत्रकार सङ्घ संगठनसँग छलफल गरेर अगाडि बढाउने बताए।
Shares

प्रतिक्रिया