राजनीति


सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न राजनीतिक दलको आग्रह

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न राजनीतिक दलको आग्रह

नेपालखबर
बैशाख ३, २०८२ बुधबार २२:१५, वीरगञ्ज (पर्सा)

पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पु(याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिबीच आज बैठक बसेको थियो। सो बैठकबाट सदियौँदेखि समाज आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग  मिलेर बसेको हुनाले सोलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनैपनि पक्षबाट नगर्न दलहरुले आग्रह गरेका हुन्।

हनुमान जयन्तीको शोभायात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगञ्ज महानगर आसपासका क्षेत्रमा भइरहेको सामुदायिक विवाद, आपसीद्वन्द्व र मनमुटावप्रति सर्वदलीय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि पन्तले जानकारी र्दिए।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायणप्रसाद कुर्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादव, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पार्टी पर्सा संयोजक ओमप्रकाश सर्राफ, राप्रपाका  जिल्ला संयोजक पन्नालालप्रसाद पटेल र जसपाका प्रतिनिधि तबरेज अहमदलगायतले सार्वजनिक रुपमा शान्ति र अमनचयन कायम राख्न आग्रह गरेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले आजै  सार्वजनिक विज्ञप्ति जारी गर्र्दै हनुमान जयन्तीको शोभायात्रामा दुई पक्षबीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मुलुकको आर्थिक राजधानीका रुपमा आफ्नो पहिचान बनाइरहेको वीरगञ्जको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनुपर्ने आवश्यकता यतिखेर रहेको हामीले अनुभूत गरेका छौँ,’ अध्यक्ष गौतमले भने, ‘पछिल्ला केही वर्षदेखि मधेश आन्दोलन, कोभिड– १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको सङ्कुचन र गतिहीनताको प्रभाव वीरगञ्जले प्रत्यक्ष रुपले भोगिरहेको छ।’

अध्यक्ष गौतमले यस किसिमको अवस्था सिर्जना हुनु सबै नगरवासीका लागि दुखद मात्र नभएर विचारणीय विषय भएको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सरोकारवाला निकायले सामाजिक सद्भाव बनाउने पक्षमा प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

‘आज बिहानदेखि बेलुकासम्म विभिन्न क्षेत्रका सरोकारवाला निकायसँग पटक–पटक छलफल गरेर सामाजिक सद्भाव कायम गर्नेमा सबैले प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘आइतबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार अघि बढ्ने सहमति भएकाले पनि अब वीरगञ्जको विषम परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरेका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad