राजनीति


जगमान गुरुङविरुद्ध राजावादी युवाले गरे होहल्ला

जगमान गुरुङविरुद्ध राजावादी युवाले गरे होहल्ला

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १७:२२, काठमाडौँ

राजसंस्था फर्काउने भन्दै आन्दोलन गर्न बनाइएको जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङविरुद्ध राजावादी युवाहरूले होहल्ला गरेका छन्। 

बुधबार काठमाडौँमा राजावादी युवाको प्रतिबद्धता सभामा सम्बोधन गरिरहँदा उनीविरुद्ध युवाहरूले हुटिङ गरेका हुन्। सम्बोधनका क्रममा जब गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिटै श्रीपेच सुम्पिने भने तब कार्यक्रममा रहेका युवा थोरै चलमलाए। 

‘श्री ५ ले जनतालाई सुम्पिबक्सेको छ, हामी जनताले यो श्रीपेच, यो राजदण्ड श्री ५ ज्ञोन्द्रलाई सुम्पिन्छौं,’ उनले भनेका थिए, ‘राजा र जनताका बीचमा त्यहाँ कुनै निकाय, दल छैन। त्यो कुरा हामीले बुझ्नुपर्छ।’

तर, जब गुरुङले त्यसका लागि आन्दोलन गर्ने भन्दै जेठ तेस्रो हप्तासम्म पर्खिन भने, त्यसपछि युवाहरू अधैर्य बने। आन्दोलको समय निकै टाढा पुर्‍याइएको भन्दै युवाहरूले होहल्ला गर्न थाले।

‘अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन,’ गुरुङको भनाइ थियो, ‘जेठको तेस्रो हप्तासम्म धैर्य गर्नुहोस्। जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस्। हाम्रो आन्दोलन सफल हुन्छ।’ 

त्यसपछि दर्शकदीर्घाबाट चर्को आवाज आउँछ, ‘टाढा भयो। धेरै ढिला भयो।’

अनि जगमान होहल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दै भन्छन्, ‘होइन, होइन। आन्दोलन त गर्दै जाने हो।’

त्यसपछि पनि युवाहरूको होहल्ला रोकिँदैन। गुरुङ फेरि सम्झाउने प्रयास गर्दै भन्छन्, ‘धैर्य गर्नुपर्छ। आत्तिन हुँदैन, मात्तिन हुँदैन।’ 

त्यसपछि पनि होहल्ला निरन्तर चल्छ। गुरुङ सम्झाउँदै भन्छन्, ‘तपाईंहरूको उत्साहलाई मैले नमस्कार गरेँ। सम्मान गरेँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad