एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राखेका ३ नेताहरूकाे जिम्मेवारी खोसेको छ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बुधबार बसेको सचिवालय बैठकले भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी खोस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘पार्टीका तीन नेतालाई स्पष्टीकरण सोधेका थियौँ,’ ज्ञवालीले भने, ‘स्पष्टीकरण उहाँहरूले दिनु त भयो तर पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्ने महसुस उहाँहरूले गरेको देखिएन।’
उनका अनुसार भीम रावललाई साधारण सदस्यबाटै मुक्त गरिएको छ। उनलाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकेको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको ज्ञवालीले बताए।
बैठकले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई भने ६ महिनाका लागि निलम्बन गरेको छ।
भिडिओ:
रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो।
गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए। गुरुङले त्यहाँ भवन पनि बनाइदिने र अर्को वर्षको दसैँमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए।
यसबारे एमालेभित्रैबाट पनि आलोचना भइरहेको छ। स्थायी कमिटी सदस्य विन्दा पाण्डेले त व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्।
यो विषय सर्वोच्च अदालत समेत पुगेको थियो। सुरुमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै प्रथम दृष्टिमै कानुन अनुकुल नदेखिएको भन्दै तत्काल कुनै प्रक्रिया अगाडी नबढाउन भनेको थियो।
तर पूर्ण सुनुवाइका क्रममा रिट खारेज गर्दै एमालेलाई दान लिएर पार्टी कार्यालय बनाउने बाटो खोलिदिएको छ।
Shares

प्रतिक्रिया