राजनीति


नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन सकिँदैन : गगन थापा

नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन सकिँदैन : गगन थापा

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन नसकिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस लामो अनुभवपछि यस्तो निष्कर्षमा पुगेको उल्लेख गरे।

‘नेपालका राजालाई सक्रिय बनायो भने के हुन्छ? हामीले के कुरा बुझ्यौं, अनुभवले सिकायो भने नेपालको राजा कसैले पनि जति धोएर सफा गर्‍यो भने पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो।’

राजालाई निर्मल निवास राख्दा नै उत्पात मच्चाएको भन्दै उनले भने, ‘निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो। अहिले नारायणहिटीमा भएको भए के गर्थे होलान?’

राष्ट्रपतिको ठाउँमा राजा ल्याए पनि शिक्षा, स्वास्थ्य, रोजगारीको काम भने नेपाली कांग्रेस र नेकपा एमालेले नै गर्नुपर्ने भन्दै त्यस्तो राजसंस्थाको आवश्यता नभएको दाबी गरे।

‘अहिले के मागेको हो? राष्ट्रपतिको ठाउँमा राजा लगेर राख्ने भनेको हो भने, एक छिनलाई मान्नुहोस् राष्ट्रपतिको ठाउँमा राजा ल्याएर राखियो,’ थापाको भनाइ छ, जो राजा ल्याउनुपर्छ भन्छ, उसलाई सोध्ने हो भने उसले देशमा भ्रष्टाचार भयो, देशमा कुशासन भयो, जागिर पाइएन, शिक्षा भएन, स्वास्थ्य भएन भन्छ। राजालाई लगेर खोपीमा लगेर राखेर शिक्षा, स्वाथ्यको काम त हुँदैन। शिक्षा, स्वास्थ्यको काम त फेरि कांग्रेस एमालेले गर्नुपर्‍यो। 

थापाले नेपालले अब कुनै पनि राजनीतिक रोमाञ्चकता (एडभेन्चर) थेग्न नसक्ने समेत जिकिर गरे। ‘हामी एकदमै स्पष्ट हुन आवश्यक छ,’ थापाले भने, ‘यो समय नेपाली कांग्रेस पार्टीले सम्हाल्ने समय हो। नेपालले अब कुनै पनि पोलिटिकल एडभेन्चर थेग्न सक्दैन।’

२०१७ सालमा राजा महेन्द्रले त्यस्तै राजनीतिक रोमाञ्चकतामा सयर गर्न खोज्दा नेपाल अहिले गरिब देशहरुको सूचीमा पुगेको समेत आरोप लगाए। ‘२०१५ सालमा वीपी कोइराला प्रधानमन्त्री हुनभयो, राजा महेन्द्रले त्यो पोलिटिकल एडभेन्चर नगरेको भए मज्जाले नेपालको राजसंस्था संवैधानिक भएर बस्थ्यो,’ थापाले भने, ‘आज हामीसँग ६५ बर्षको प्रजातान्त्रिक नेपालको हामीसँग अभ्यास हुन्थ्यो। अनुभव हुन्थ्यो। नेपाल अर्कै ठाउँमा पुगिसकेको हुन्थ्यो।  बिकासको हिसाबले पनि, सबै हिसाबले।’ 

उनले थपे, ‘आज हामी कहाँ यस्तो गरिब देशहरुको सूचीमा बसिरहेका हुन्थ्यौं त। हामी त धनी देशहरुको क्लबमा बसेका हुन्थ्यौं होला सायद। राजाको पोलिटिकल एडभेन्चरले डुबायो हामीलाई।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad