प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरणलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस-नेकपा एमालेसहितको वर्तमान सरकार बन्न नदिन धेरै चलखेल भए पनि यो सरकार देशका समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि बनेको बताएका हुन्।
उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको दाबी गरे।
‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको हो। दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि भनेर जुन खालको अस्थिरताको स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नको लागि यो समीकरण बनाइएको हो,' उनले भने, 'केही मान्छेहरुलाई सौख जस्तो थियो, तिनीहरु पनि थाके अब। यो सरकार बन्नै नदिन कोशिस गरिरहेका थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए, झन्डै दुई तिहाइ त नेकपा एमाले र नेपाली कांग्रेससँग मात्रै छ। बहुमतको कुनै कमी छैन। दुई वटा पार्टीले संकल्प गरेका छन् । हामी चुनावसम्म सँगै जान्छौँ।'
उनले कांग्रेस-एमालेसहितकै सरकारले शान्तिपूर्ण वातावरणमा आम निर्वाचन गराउने पनि बताए।
अहिले स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि दुई वटा पार्टी मिलेर सरकार बनाएको भन्दै उनले थपे, 'यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन।’
Shares

प्रतिक्रिया