राजनीति


राजेन्द्र लिङ्देनलाई जगमान गुरुङको साथ

राजेन्द्र लिङ्देनलाई जगमान गुरुङको साथ

राजेन्द्र लिङ्देन र डा जगमान गुरुङको फाइल तस्बिर


नेपालखबर
चैत २४, २०८१ आइतबार २१:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि साथ दिने भएको छ। 

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्ति जारी गरी राप्रपाको कार्यक्रममा आफूहरू पनि सहभागी हुने जानकारी गराएका हुन्। 

डा. गुरुङले राप्रपाले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शन तथा आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन समितिमा आवद्धहरूलाई आह्वान गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत् आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहेको छ।’

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै करोडौँको क्षति भएपछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन्। यसैकारण डा जगमान गुरुङलाई समितिको कार्यवाहक संयोजकको जिम्मेवारी दिइएको हो। 

सुवेदीको नेतृत्वलाई अस्वीकार गर्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेका हुन्। तर राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भने सुवेदी नेतृत्वकै समितिमा सक्रिय रहँदै तीनकुने प्रदर्शनमा सहभागी भएका थिए। 

त्यस दिन भएका हिंसा र तोडफोड घटनामा मिश्र र राणा पनि अहिले प्रहरीको हिरासतमा छन्। प्रहरीले उनीहरूविरुद्ध मुद्दासमेत दर्ता गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad