राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गरेको छ। पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेसहित नेताहरूले सामुहिक रुपमा घण्टी बजाएर जनयात्राको सुरुवात गरे।
आजको जनयात्राको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने तय थियो। सोहीअनुसार उनकै तस्बिर भएका ठूला ठूला पोस्टर र ब्यानरहरू तयार पारिएका थिए। कार्यक्रम स्थलमा पनि रविकै तस्बिर भएका ब्यानर टाँगिएका छन्। तर लामिछाने त्यहाँ उपस्थित छैनन्।
उनलाई शुक्रबार राति नै प्रहरीले पक्राउ गर्यो। बुटवलको सुप्रीम सहकारीको बचत ठगीको आरोप खेपिरहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेसँगै उनी काठमाडौँस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।
यसलाई लिएर निकै टिकाटिप्पणी भइरहेका बेला आजको जनयात्रा सभालाई सम्बोधन गर्दै रास्वपाका सांसद हरि ढकालले लामिछानेको 'अन्तिम इच्छा' भन्दै अभिव्यक्ति दिए।
‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ, यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ,' उनले रवि लामिछानेको अन्तिम इच्छा भन्दै सुनाए, 'यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ।’
उनले एकजना व्यक्तिलाई राज्यले पटकपटक लखेटिरहेको भन्दै यसलाई चितवनले फेरि जवाफ दिनुपर्ने बताए। सरकारमा भएकाहरूले न्यायालयको प्रक्रिया नबुझेको पनि उनले टिप्पणी गरे।
Shares

प्रतिक्रिया