राजनीति


रवि पक्राउ परेपछि रास्वपा सचिवालयको आकस्मिक बैठक

रवि पक्राउ परेपछि रास्वपा सचिवालयको आकस्मिक बैठक

फाइल तस्बिर


नेपालखबर
चैत २३, २०८१ शनिबार ०:६, काठमाडौँ

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको आकस्मिक बैठक बसेको छ।

शुक्रबार राति रास्वपाको आकस्मिक सचिवालय बैठक बसेको हो।

हाल देशको राजनीतिक घटनाक्रम, सभापति रवि लामिछानेका विषयमा उच्च अदालतको आदेश, चितवनमा शनिबार गर्ने भनिएको सभा र आगामी कदमका विषयमा छलफल गर्न राति ११ बजेदेखि सचिवालय बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशले १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै रवि शुक्रबार साँझ बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए।

हजारौँ सहकारी पीडितको न्यायको विषय जोडिएकाले उनी मुछिएको अपराध धरौट वा जमानतमा छाड्न नमिल्ने प्रकृतिको रहेको उच्च अदालतको आदेशमा भनिएको छ।

'सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम आएको घटनाको प्रकृति जति संवदेनशील छ, जिम्मेवार सञ्चालकको हैसियतमा रहेका प्रतिवादी (रवि) को भूमिका र बयान उति नै शंकास्पद र अनुचितसमेत छ,' न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले दुई दिनको सुनुवाइपछि शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, 'थुना वा धरौटमध्ये कुनै एक विकल्पलाई अदालतले आफ्नो रोजाइमा प्रयोग गर्न सक्दैन। वास्तवमा थुना र धरौट निरपेक्ष रूपमा एकअर्काका विकल्प पनि होइनन्। थुनामा राख्नुपर्ने अवस्थाको अभियुक्त वा प्रतिवादीलाई अदालतले धरौट माग गर्न मिल्दैन र हुँदैन पनि।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad