राजनीति


शिक्षकको गुनासो: जनप्रतिनिधिले अनाहकमा पेल्छन्, आफ्ना इँटाभट्टामा पनि काम लगाउँछन् (भिडिओ)

'प्रअलाई थाहै नदिई शिक्षक फेर्ने व्यवस्था हटाउनुपर्छ, ऐन नल्याएसम्म कक्षा फर्किँदैनौँ'

प्रज्ञा तिम्सिना
चैत २३ , काठमाडौँ

नानुमाया पराजुली लमजुङको शिशु विद्याश्रम माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन्। 

नयाँ संविधानले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा पारेपछि उनले नयाँनयाँ समस्या बेहोरेकी छन्। मुख्य समस्या के भने स्थानीय सरकारका जनप्रतिनिधिले आफूअनुकूल शिक्षक सरुवा गरिदिन्छन्। त्यसबारे प्रधानाध्यापकलाई जानकारी दिनु वा एक शब्द सोध्नु आवश्यकसम्म ठान्दैनन्। आज एउटा विद्यालयको कक्षाकोठामा पढाइरहेको शिक्षक जनप्रतिनिधिकै सनकमा भोलि कहाँ पुग्छ? ठेगानै हुन्न।

यी व्यवहारले आजित छिन् पराजुली।

यो समस्या पराजुलीको मात्र होइन। देशभरका विद्यालयका शिक्षकहरूको हो। 

‘विद्यालयमा पढाइरहेका शिक्षकलाई सरुवा भएको पत्र आउँछ, विद्यालयमा प्रधानाध्यापक भएर आउन नपाउँदै सरुवा हुन्छ,’ उनी भन्छिन्, ‘विद्यालय निरीक्षण गर्न, शैक्षिक सुधार गर्न चासो छैन। आफूअनुकूलको शिक्षक विद्यालयमा राख्न मात्र ध्यान दिने व्यवहारले आजित छौँ।’

विद्यालय शिक्षक स्थानीय तहको मातहत राख्ने व्यवस्थाप्रति उनीहरूको असन्तोष छ। त्यसैले नेपाल शिक्षक महासंघले यो व्यवस्था हटाउन दबाब दिइरहेको छ। 

अहिले पनि काठमाडौँको माइतीघरमा दिनहुँ प्रदर्शन चलिरहेको छ। त्यसको अगुवाइ गर्नेमध्ये महासंघकी सहअध्यक्ष पराजुली पनि हुन्। 

स्थानीय तहअन्तर्गत विद्यालय राख्न नहुने भन्दै विरोध जनाइरहेका शिक्षकहरूले संविधानको व्यवस्था खारेज गरेर भए पनि शिक्षकलाई संघीय सरकारमातहत राख्नुपर्ने माग राखिरहेका छन्।

महासंघले डेढ वर्षदेखि विद्यालय शिक्षा विधेयक चाँडो ल्याउन र आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिइरहेको छ। पछिल्लोपल्ट चैत २० गते अनिश्चितकालीन आन्दोलन घोषणा गरी देशभरबाट भेला भएका शिक्षकहरू सडकमा उत्रिएका छन्।

हुन त राजनीतिक दलका सबैजसो नेताहरू शिक्षकका माग सुनेपछि तत्काल सम्बोधन गरिहाल्ने भनी वाचा गर्न छाड्दैनन्। तर, व्यवहारमा शिक्षकले धोकाबाहेक केही नपाएको गुनासो गरिरहेका छन्।

पछिल्लोपल्ट हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक संसदबाट पारित गरी छाड्ने भनेर मन्त्रीदेखि प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताहरू भनिरहेकै थिए। तर, रातारात हिउँदे अधिवेशन नै अन्त्य गरेर चैत १९ गते प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डतिर उडे।

विधेयक पारित गराउन दबाबका लागि देशभरबाट काठमाडौँमा भेला भएका शिक्षकहरू हेरेका हेर्‍यै भए। सरकारको यस व्यवहारबाट शिक्षकहरू झनै आक्रोशित भएका छन्। र, माग पूरा नगरेसम्म काठमाडौँ नछाड्ने अडानका साथ उनीहरू सडकमा उत्रिएका छन्।

सडक संघर्षको नेतृत्व गरिरहेकी महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीसँग ‘नेपालखबर तत्कालै’मा कुराकानी गरिएको छ।

भिडिओ:

चैत २२, २०८१ शुक्रबार २१:५४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad