परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छिन्।
बैंककमा आयोजित छैटौँ बिमस्टेक समिटअन्तर्गत बिहीबार २०औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन्।
'बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एसियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रंगले यस क्षेत्रको समृद्ध सभ्यता, संस्कृति, इतिहास, पारिस्थितिक विविधता बोकेको छ । यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्दछ,' उनले भनिन्।
अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्तिपूर्ण, समतामुलक र समावेशी रूपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्त्व दिँदै आएको पनि उनले स्पष्ट पारिन् । 'हामी शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ पार्न क्षेत्रीय र विश्वव्यापी सबै मञ्चहरूमा सक्रिय रूपमा संलग्न छौँ । संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै शान्ति सैन्य पठाउने देशका रूपमा पनि हामी गर्व गर्दछौँ,' उनले भनिन्।
मन्त्री राणाले सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको वडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात गरेको बताइन् । मन्त्री राणाले बंगालको खाडी क्षेत्र जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनास र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले जोखिममा रहेकाले पूर्वाधार निर्माण, पूर्वचेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायहरूलाई वातावरण संरक्षणमा संलग्न गराउनु अहिलेको अत्यावश्यकता भएको बताइन्।
मन्त्री राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिरसमेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका सदा अग्रणी रहने विश्वास पनि व्यक्त गरिन् । उनले बिमस्टेकलाई बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गरी समयानुकूल सशक्त क्षेत्रीय संगठन बनाउन विभिन्न सुझाव पनि राखिन्।
मन्त्री राणाले उपलब्ध स्रोतहरूको उपयोग, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा सहयोग तथा व्यापार, पर्यटनको विकास, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, एकीकृत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताइन्।
मन्त्री राणाले सदस्य राष्ट्रहरुबीचको सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि विकास साझेदार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा जोड दिइन्। बैठकमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको सहभागिता थियो। रासस
Shares

प्रतिक्रिया