सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन पनि उत्तिकै अहम् हुने बताएका छन्।
काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताएका हुन्।
यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उनको भनाइ छ।
पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको उनले प्रष्ट पारे। मन्त्री गुरुङले भने, 'गणतान्त्रिक शासन व्यवस्थामा राजा आऊ देश बचाऊ भन्नु सज्जनहरूले गर्ने काम होइन।'
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा पनि जनतालाई सही सूचना प्रसारण गर्ने सर्वजनिक प्रशारण सेवा (पीएसबी) को प्रमुख दायित्व हुने बताए।
Shares

प्रतिक्रिया