प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा हिंसा गराउन पूर्वराजा ज्ञानेन्द्र शाहले अघिल्लो दिन दुर्गा प्रसाईंलाई आफ्नै निवास (निर्मल निवास) मा बोलाएर योजना बनाएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहले चैत १४ गते प्रसाईंलाई आफ्नै घर बोलाएर चैत १५ को हिंसात्मक प्रदर्शनका लागि ‘जनकमान्डर’ तोकेको दाबी गरेका हुन्।
‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो’, प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो।’
राजसंस्था पुन:स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा कराेडौँको क्षति भएको छ। त्यस प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई जनकमान्डर तोकिएको थियो।
त्यही दिनदेखि फरार प्रसाईंलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई भने प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ।
Shares

प्रतिक्रिया