प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाका सांसदलाई शपथको ख्याल गर्न सुझाव दिएका छन्।
तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा राप्रपाका सांसद समेत रहेका महामन्त्री धवलशम्शेर राणा सहभागी भएका थिए। तर, सो प्रदर्शन हिंसात्मक, अराजक र आततायी भएको भन्दै प्रधानमन्त्री ओलीले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राप्रपाका सांसदलाई सपथको हेक्का राख्न भनेका हुन्।
‘शपथ विपरीत जानुहुँदैन। नेपालको संविधानको सपथ हामी सबैले उभिएर लिएका हौँ। संविधानको शपथ लिने? अनि संविधानकै खिलाफ जान्छु भन्ने?,’ ओलीले भने, ‘संविधानको भन्दा माथि शपथ, कसैले देश र जनताका नाममा लिएका हौला कसैले ईश्वरका नाममा । ईश्वरका नाममा शपथ लिएर, संविधानका नाममा शपथ लिएर इश्वरका नाममा कसम खाएर त्यसविपरीत चल्न मिल्छ? नैतिकताले । त्यसो भएर म सबैको ध्यानाकर्षण गराउन चाहन्छु। हामी एउटा थिति, एउटा सामाजिक मर्यादामा बसौँ।’
साथै ओलीले तीनकुने घटनालाई मानवता विरुद्धको आपराधिक घटना भनेका छन्। उनले यसको छानवीन गरिने र दोषीमाथि कारवाही गरिने बताए।
Shares

प्रतिक्रिया