राजनीति


तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ

तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ

डा राजकुमार राई, ढाका टोपीमा


नेपालखबर
चैत १७, २०८१ आइतबार २२:५, काठमाडौँ

काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका छन्। रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। थप व्यक्तिहरु पनि पक्राउ गर्नेक्रम रोकिएको छैन।

रावाबेसी गाउँपालिका १ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। पहिलो पटक उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा भएको जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा जिल्ला अध्यक्षमा निर्वाचित हुँदा राई फराकिलो अन्तरले पराजित भएका थिए।

थापाले ३० मत पाउँदा डा. राईले ६ मत मात्रै पाएका थिए। तर डा. राई अध्यक्षमा पराजित भएपछि पार्टीका गतिविधिमा निस्क्रिय बन्दै गएको जिल्ला अध्यक्ष थापाले दाबी गरे।

‘पहिले उहाँ निर्वाचन क्षेत्र सभापति हुँदा म सचिवमा निर्वाचित भएको थिएँ। पछि उहाँ र म अध्यक्षमा भिडेका थियौँ। मैले चुनाव जितेँ। जिल्ला भेलामा पराजित भएपछि उहाँ पार्टीका कुनै पनि बैठकमा सहभागी हुनुभएन। पार्टीमा निस्क्रिय हुनुहुन्थ्यो,’ थापाले भने।

राजावादीतिर नजिक भइरहेको आफूले पनि थाहा पाएको उनले बताए।

‘उहाँलाई हामीले कारबाही पनि गर्न सक्थ्यौँ पार्टीको विधिविधान विपरित चलेको भनेर। तर पार्टी बिबादमा मुछिन्छ राम्रो हुँदैन भनेर गरेनौँ। अहिले त राजावादीको आन्दोलनमा लागेर पक्राउ पर्नुभयो भन्ने सुन्दैछु,’ थापाले भने।

६३ वर्षका राईलाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद लिश्एर अनुसन्धान अगाडी बढाएको छ। उनीसहित पक्राउ परेका ४१ जनाले विभिन्न आपराधिक गतिविधि गरेको प्रहरीको आरोप छ।

डा राजकुमार राई

पक्राउ पर्नेमा अन्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए।

प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ। म्याद थपका लागि अदालतसँग अनुमति माग गर्दै प्रहरीले आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको दाबी गरेको छ।

यस्तै सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरुको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेत तोडफोड र आगजनी गरेको आरोप छ।

आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्‍याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारेको र पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटना घटाएको भन्दै प्रहरीले तीन वटा मुद्दामा अनुसन्धान गर्न अनुमति माग गरेको छ।

साथै, तीनकुने स्थित एउटा घरमा भित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदा हुँदै संचारकर्मी प्रष्ट रुपमा देखिने गरी रिपोर्टिङ गरिरहेको अवस्थामा आगो लगाई ज्यान लिएको समेत प्रहरीले अदालत समक्ष पेश गरेको छ।

यी आधारमा उनीहरुमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुई वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad