कार्यकाल नसकिँदै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउन अदालतबाट बाटो खुलेपछि सरकारले रातारात आफूलाई हटाएको बताएका छन्।
‘सरकारले जुन किसिमले हटायो, त्यसका लागि सरकारलाई धन्यवाद!’ नेपालखबरको नयाँ भेन्चर ‘तत्कालै’ मा आइतबार साँझ घिसिङले भने, ‘बाँकी ४ महिनामा गर्नुपर्ने काम धेरै थिए। डेडिकेटेड ट्रंक लाइनको राजस्व उठाउन हामी लागिपरेका थियौँ। टीओडी मिटर छानबिनको मुद्दामा अदालतले स्टे अर्डर दिएपछि हामीले प्रक्रिया सुरु गरिसकेका थियौँ। उद्योगी बक्यौता तिर्न आइसकेका थिए। नतिर्नेहरूको तत्काल लाइन कट्छ भनेर मलाई सरकारले रातारात हटायो।’
कार्यकाल सकिन ४ महिना मात्रै बाँकी रहँदा आफूलाई अपमानपूर्वक बर्खास्त गरिएको भन्दै घिसिङ पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका छन्।
‘अब अदालतले जे निर्णय गर्छ, त्यो अदालतलाई नै छोडौँ,’ घिसिङले भने, ‘तर, म पुनर्बहाली भएँ भने ४ महिना होइन, एक महिनामै सबै उद्योगीको बक्यौता उठाइसक्छु। नतिर्नेको तत्काल लाइन काटिन्छ।’

सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गठन गरेको टीओडी मिटर बिल जाँचबुझ समिति कानुनी आधारविहीन रहेको ठहर गर्दै अन्तरिम आदेश जारी गरेको थियो।
कुलमानले ९ महिनासम्म आफूलाई मन्त्रालयबाटै निरन्तर राजीनामा दिन बाध्य हुने स्थिति सिर्जना गरिएको बताए।
‘मलाई कसरी हटाउन सकिन्छ भनेर ६ पटकसम्म स्पष्टीकरण सोधियो,’ उनले भने, ‘एमडीलाई असहयोग गर्नू भन्नेसम्मको निर्देशन कर्मचारीलाई दिइयो। मन्त्रालयको स्वार्थअनुसार काम गर्न नदिएपछि यो सब भयो। यो मैले बाँकी ४ महिना काम गर्न पाइनँ भन्ने विषय मात्रै होइन। विगत ९ महिनादेखि विद्युत् प्राधिकरणलाई काम गर्ने वातावरण नदिएर जुन हिसाबले चर्चा–परिचर्चा र दबाब सिर्जना भयो, त्यसले मलाई अपमानित महसुस भएको छ। दबाबका बाबजुद पनि मैले देश र जनताका लागि योगदान दिन कुनै कसर बाँकी राखिनँ।’
प्राधिकरणको कार्यकारी निर्देशक भएर मन्त्रीसँग तालमेल मिलाउनुपर्नेमा भिड्नुपर्ने स्थिति किन आयो त?
कुलमानले आफूले विधिसम्मत हिसावले काम गर्न खोज्दा यो परिणाम भोग्नुपरेको बताए।
‘मैले गलत हिसाबले काम गरेको छैन। देश र जनताको लागि काम गरेँ। तर, त्यसवापत कार्यसम्पादनमा शून्य अंक किन दिइयो थाहा छैन,’ उनले गुनासो पोखे।

कुलमानले तत्काल आफू प्राधिकरणमा नरहे पनि लोडसेडिङ नहुने बताए।
‘मन्त्रीले संसदमा गएर लोडसेडिङ हुन्छ किन भन्नुभयो, थाहा छैन। तर, कुलमान भए पनि, नभए पनि लोडसेडिङ हुँदैन। त्यो सिस्टम बसिसकेको छ,’ उनले भने।
हामीले कुलमानलाई सोध्यौँ– ‘देशभरबाट तपाईंका समर्थकले राजनीतिमा आउन सुझाव दिइरहेका छन्, तपाईंको योजना चाहिँ के छ?’
जवाफमा उनले भने, ‘४ महिनापछि कस्तो परिस्थिति बन्छ, जनताको कस्तो चाहना हुन्छ, हेरौँ। तर जे होस्, यहीँ बसेर जनताका लागि नै काम गर्छु। राजनीति होला, के होला, जे पनि हुन सक्छ।’
आजैबाट सुरु भएको नेपालखबरको नयाँ भेन्चर ‘तत्कालै’ मा कुलमान घिसिङ (भिडिओ) :

प्रतिक्रिया