राजनीति


सर्वदलीय बैठकमा रास्वपालाई बोलाइएन, अर्याल भन्छन्- फोटो खिच्नेहरूको भेला

सर्वदलीय बैठकमा रास्वपालाई बोलाइएन, अर्याल भन्छन्- फोटो खिच्नेहरूको भेला

रास्वपा उपभापति डोलप्रसाद अर्याल


नेपालखबर
चैत १७, २०८१ आइतबार २०:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्र पक्षधर दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ। बैठकमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत, जनमोर्चा, लोसपा, जसपा नेपाल, जसपालगायत दलका शीर्ष नेता सहभागी छन्। 

तर, संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने छलफलमै नबोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए। 
 
'सबैभन्दा पहिले त यो सर्वदलीय बैठक नै भएन। चौथो ठूलो राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने? हामीलाई जानकारी छैन,'उनले भने, 'यो सँगै फोटो खिच्न रहर हुनेहरूको भेला बैठक हो। फोटो खिचाउन हामीलाई रहर छैन। बैठकबारे जानकारी नै छैन।' 

साँझ ७ बजेदेखि सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी बैठक सुरु भएको हो। पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा भेला भएका हुन्। 

बैठकमा  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउन, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,  नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा.बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad