समाज


हाँस्दै अदालत गएका धवल र रवीन्द्र मलिन अनुहारमा निस्किए

हाँस्दै अदालत गएका धवल र रवीन्द्र मलिन अनुहारमा निस्किए

सरोज नेपाल
चैत १७, २०८१ आइतबार २०:२३, काठमाडौँ

तीनकुनेको दंगा भड्काउन खास भूमिका खेलेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लियो। शनिबार रातिसम्म १११ जनालाई पक्रियो। आज आइतबार भने प्रहरीले ४१ जनालाई मात्र मुद्दा चलाउने गरी अदालतमा उपस्थित गरायो। बाँकी सबैलाई रिहा गरिदियो।

अहिलेसम्म पक्राउ परेकामध्ये सबैभन्दा उपल्लो तहका राजावादी अगुवाहरू हुन्, रवीन्द्र मिश्र र धवलशमशेर।

अदालतमा मुद्दा चलाउन लैजाँदा रवीन्द्रलगायतको हातमा हत्कडी थियो। तर, धवलशमशेरलाई हत्कडी लगाइएको थिएन। 

साँझ ४ बजेतिर मात्र अदालत लगिएका उनीहरू हात हल्लाउँदै थिए। खुसी र उत्साही देखिन्थे। अनुहारमा चमक लिएर अदालत प्रवेश गरेका उनीहरू फर्किँदा भने त्यस्तो चमक देखिँदैनथ्यो।

न्यायाधीश तारावेदी महर्जनको इजलासले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनीहरूको अनुहार मलिन भएको हो।
यद्यपि, धवलशमशेरले गाडी चढ्नुअघि अदालत परिसरमा भेला भएकाहरूलाई हात हल्लाएर अभिभावदन गरे। 

शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउने क्रममा दुर्गा प्रसाई भागिसकेपछि पनि उनीहरू मैदानमै थिए। प्रसाई अझै फरार छन्।

दिनभरको दंगा-फसादपछि साँझ अस्पतालमा घाइतेहरू भेट्न पुगेका थिए। अस्पतालबाट फर्किँदाफर्किँदै उनीहरू समातिए।

शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउन प्रसाईले ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए। आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न उक्साएका थिए।

प्रहरीले रोक्न खोज्दा पनि उनी रोकिएनन् र सुरक्षा घेरा तोडेरै छाडे। यतिन्जेल प्रहरी पनि संयमित देखिन्थ्यो। किनभने, सुरक्षाकर्मीको चेतावनी अटेरी गरी उनी गाडी हुइँकाइरहेका थिए र समर्थकलाई उत्तेजित बनाइरहेका थिए।

मिश्र र राणाले मञ्च खाली गरेर सडकमा आउन प्रदर्शनकारीलाई भनेका थिए। 

‘रमिता हेर्ने होइन मञ्चबाट और्लाैँ साथीहरू, तपाईँहरू पनि अगाडि बढ्नुस्, हामी पनि अगाडि बढ्छौँ,’ राणा माइकबाट भनेका थिए। 

लगत्तै उनको हातबाट माइक तानेर मिश्र पनि चिच्याए, ‘साथीहरू सबै हिँड्नुस्।’

उनीहरूले उक्साएपछि उग्र बनेका प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी, लुटपाट र तोडफोड गरेका थिए। त्यस क्रममा दुई जनाको ज्यानै गयो। राजावादीहरूले जलाएको घरमा एक पत्रकारको समेत ज्यान गएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad