बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले हिंसात्मक गतिविधिको सशक्त प्रतिवाद गर्न अग्रगमन पक्षधर शक्तिहरूलाई आह्वान गरेको छ।
नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गरी विध्वंसकारी गतिविधि सञ्चालन गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीका लागि सरकारको ध्यानाकर्षण पनि गराएका हुन्।
‘आज राजावादीहरूले कथित आन्दोलनका आवरणमा मच्चाएको वितण्डताप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सर्वसाधारण जनताका निजी सम्पत्तिहरू, व्यापारिक केन्द्रहरू, राजनीतिक दलहरूका कार्यालय, सञ्चारगृहहरू, यातायातका साधनहरू, सार्वजनिक सम्पत्तिमाथि योजनाबद्धरूपमा गरिएका तोडफोड, लुटपाट र आगजनी लगायतका उच्छृंखल,अराजक र आपराधिक गतिविधिहरूको हाम्रो पार्टी घोर विरोध र भर्त्सना गर्दछ। यस क्रममा मण्डले आततायी तत्त्वहरूले निजी व्यक्तिको घरमा आगो लगाएर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान लिएका छन् भने कीर्तिपुर निवासी सविन महार्जन समेतको मृत्यु भएको छ। राजतन्त्र पुनर्स्थापना गर्न आन्दोलनको नाममा जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी करबाहीको दायरामा ल्याई यस्ता विध्वंसकारी गतिविधिलाई समयमै नियन्त्रण गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदछौँ।’
विज्ञप्तिमा ‘पुनरुत्थानवादी शक्तिहरूले बदनियतपूर्ण ढंगले सञ्चालन गरिरहेका लोकतन्त्रविरोधी हर्कत, अराजनीतिक र हिंसात्मक गतिविधिहरूको सशक्त प्रतिवाद गर्न सम्पूर्ण अग्रगामी र लोकतन्त्र पक्षधर शक्तिहरूलाई आह्वान’ पनि गरिएको छ।

Shares

प्रतिक्रिया