राजनीति


प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ: माओवादी केन्द्र

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ: माओवादी केन्द्र

नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन्।

बिहीबार संसद भवनबाहिर पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए। 

उनले सरकारलाई खबरदारी गर्ने थलो संसद नै भएको बताए। उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए। 

कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरूले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो। सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जवाफदेही बनाउने थलो संसद हो तर सरकार स्वेच्छाचारी ढंगले निरंकुश तरिकाले आफ्नो सुरमा कुसाशन गरिराख्ने परिस्थिति छ,’ उनले भने, ‘हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्‍यो यसबारे के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ। प्रधानमन्त्री र सरकार संसदप्रति जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ।’

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए। 

‘सडकभरि जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरू संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ। उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो‚’ उनले भने, ‘यहीँबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरूले गलत गरिराख्नुभएको छ। त्यसैले नैतिक हिसाबले इमान्दारीपूर्वक उहाँहरूले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरू जवाफ दिन तयार हुनुहुन्न।’

सांसद सापकोटाले वर्तमान सरकार विचौलियाहरूले बनाइ दिएको र उनीहरूकै स्वार्थ पूरा गर्न उनीहरूकै हितमा चलेको आरोप लगाए। 

उनले सांसदहरू बोल्दै गर्ने तर सरकारले स्वेच्छाचारी र निरंकुश गतिविधि गरिरहने हो भने संसद चल्नु र नचल्नुमा कुनै अर्थ नहुने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad