राजनीति


गणतन्त्रको विकल्प कुनै व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक

गणतन्त्रको विकल्प कुनै व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक

नेपालखबर
चैत ९, २०८१ शनिबार १८:१८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएा छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताए।

‘मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्। बेराजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन्। सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन’, समस्या गृहमन्त्री लेखकले भने, ‘तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन। विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएका छन्। धेरै काम गर्ने प्रयत्न भइरहेको छ।’

उनले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए। ‘समस्यालाई मात्रै हेरेर बस्ने हो भने समस्याको चाङले च्यापिन्छौँ तर सम्भावना हेरेर अगाडि बढ्यौँ भने विकासको गतिमा अगाडि बढ्न सक्छौँ, यसमा सबैको साझा प्रयास आवश्यक छ’, मन्त्री लेखकको भनाइ थियो।

उनले गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भनेर निरंकुशताको कुरा गर्नु गलत भएको भन्दै यस्ता गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे।

‘लोकतन्त्रको विकल्प निरंकुश व्यवस्था र गणतन्त्रको विकल्प राजतन्त्र वा अरु केही हुनसक्दैन। गणतन्त्रको स्थापनापछि धेरै उपलब्धि भएका छन्, यसको गति बढाउन सबैबाट इमान्दार प्रयत्न आवश्यक छ। यसमा नागरिक, दल र सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन’, मन्त्री लेखकको भनाइ थियो, ‘म क्याम्पस पढ्ने बेला स्नातक तहको अध्ययनका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो। स्वास्थ्य समस्या त्यस्तै थियो, हाल गाउँगाउँमा उच्च शिक्षा र स्वास्थ्य सुविधा पुगेको छ। देशभित्रै सम्भावना खोज्नका लागि सरकारले वातावरण बनाउँदैछ। अब हाम्रो सम्पूर्ण ध्यान रोजगारी सिर्जनामा केन्द्रीत गर्नुपर्ने बेला भएको छ।’

उनले देशभित्रै रोजगारी मिल्ने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताए। ‘सबैको साथ हुनुपर्छ, देशभित्रै सम्भावनाको सुनिश्चितता गर्छौ। गास, बासको व्यवस्था सुनिश्चितता गर्छौं’, उनले भने, ‘अहिले सामान्य श्रमिकको रूपमा जनशक्ति पठाइरहेको नेपालले आगामी १० वर्षभित्र विश्वस्तरकै दक्षजनशक्ति निर्माण गरी स्वदेश र विदेशका धेरै देशमा पठाउन सक्छ। देशभित्र स्थापना भएका प्राविधिक धारका विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने दक्षजनशक्ति निर्माण गर्ने काममा लागिरहेका छन्।’

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्राविधिक शिक्षा घरआँगनमा पु¥याउने लक्ष्यसहित क्याम्पसलाई सम्बन्धन दिइरहेको बताए। उनले हाल विश्वविद्यालयसँग एउटा केन्द्रीय क्याम्पस तथा १५ वटा आङ्गिक क्याम्पस र ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस रहेको जानकारी दिए। विश्वविद्यालयमा करिब १८ हजार विद्यार्थी अध्ययनरत रहेका भन्दै उपकुलपति पन्तले शैक्षिक क्यालेन्डरलाई पूर्ण पालना गर्दै उत्कृष्ट विश्वविद्यालय बनाउन आफूहरू लागिपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad