कोसी प्रदेशमा हुन लागेको लगानी सम्मेलनको लागि अहिलेसम्म ५४ वटा योजनाहरू सोकेसिङकोलागि तयार पारिएको छ। प्रदेश लगानी प्राधिकरणले अहिलेसम्म लगानी सम्मेलनका लागि यी योजनहरू सोकेस गर्ने तयारी गरेको हो।
आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने लगानी सम्मेलनको तयारी नभएको भन्दै आलोचना भइरहेका अवस्थामा सरकारले लगानी सम्मेलन समयमा नै गर्नको लागि तयारी गरेको जनाएको हो।
५४ वटा परियोजनाबाट १ खर्ब ३९ अर्ब ३० करोड लगानी भित्र्याउने तयारी रहेको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए।
उनका अनुसार लगानी सम्मेलनको लागि अहिले टेन्डर मार्फत गर्नु पर्ने प्रक्रियागत कामहरू भइरहेको छ।
उनले भन, ‘सोकेस गर्ने भनिएका योजनाहरूको कुल लागत ३२ अर्ब देखि तल रहेको जनाइएको छ।’
उदयपुरमा निर्माण हुने उदयपुर क्लीङ्कर प्रोजेक्टको लागि ३२ अर्बको सबैभन्दा ठूलो लगानी हुने परियोजना हो। त्यस्तै २६ अर्बको सुनसरीमा ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाईजर परियोजना, ताप्लेजुङमा कनकाई–इलाम पोडवेका लागि २५ अर्ब लागतको परियोजना सोकेस हुने कोइरालाले बताए। खोटाङमा १० अर्बको हलेसी केबलकार पोडवे प्रोजेक्टको परियोजना छ।
मोरङमा धेरै वटा परियोजनाहरू स्वीकृत भएर लगानी सम्मेलनमा सोकेस हुँदै छ। ३ अर्ब लागतको मोरङमा इलेक्ट्रिक सवारी उद्योग, उदयपुरमा २ अर्ब लागतको बायोइथानोल प्रोजेक्ट प्रस्ताव छ।
मोरङमा १ अर्ब १६ करोडको हर्बल प्रोसेसिङ प्रोजेक्ट, ५ अर्बको कोसी पोडवे, १ अर्ब ७५ लाखको पाँच तारे होटल परियोजना पनि परियोजना प्रस्तावको रूपमा आएका छन्। ४ अर्ब ८० करोडको विराटनगर मल्टिपर्पोज कम्प्लेक्स सोकेसिङको लिस्टमा राखिएको कोइराला बताउँछन्।
त्यस्तै सुनसरीमा १ अर्ब ६० करोडको बर्जू सोलर पिभी प्रोजेक्ट, ४ अर्ब २८ करोडको सुनसरीको बर्जू ताल पर्यटन परियोजना, २ अर्बको कोसी रिफ्रेसमेन्ट सेन्टर र उदयपुरमा १ अर्बको स्टार लेभल रिसोर्ट एन्ड पार्क लिम्चुङबुङको लागि आएका परियोजनाहरू छन्। ५४ वटा परियोजनाहरू मध्ये १ अर्ब भन्दा माथिका १८ वटा योजना रहेको लगानी प्राधिकरणले जनाएको छ।
लगानी सम्मेलनकोलागि प्रस्तावको रूपमा १० वटा परियोजनाबाट १२ अर्ब ५ करोडको प्रस्ताव आएको छ। आएका प्रस्तावित परियोजनाहरू स्वीकृत भई नसकेको डा कोइरालाले बताए। थप भएर आएका परियोजनाहरू ५० करोड देखि ५ अर्बसम्मका रहेका छन्।
माघ ११ गतेदेखि विराटनगरमा सम्मेलन गर्नेगरि सरकारले तयारी अघि बढाएको थियो। लगानी सम्मेलन समयमा सक्ने बारेमा ब्यवसायीहरुको बिचमा कुरा नमिलेपछि सरकारले लगानीसम्मेलन सारेको हो।
Shares

प्रतिक्रिया