राजनीति


उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता

उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १०:२१, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइबीच भेटवार्ता भएको छ। 

मन्त्री भण्डारीको स्वकीय सचिवालयका अनुसार सो भेटवार्ताका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे। 

कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको पहिलो आधिकारिक भ्रमण रहेको हुँदा उक्त भेटघाट कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण उपलब्धिमात्र नभई आपसी सहकार्य र आर्थिक वृद्धिको नयाँ सम्भावना अन्वेषण गर्ने अवसर पनि रहेको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गरे। 

आगामी दिनमा यस्ता उच्चस्तरीय भेटघाटमार्फत सम्बन्ध विस्तार गर्नुपर्ने र आपसी  भेटर्वार्ता र साझेदारीमार्फत दुई देशबीचको सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे। 

हाल नेपाल–मोल्डोभा व्यापार कारोबार सीमित रहेको हुँदा यसलाई विस्तार गर्नुपर्नेमा जोड दिँदै व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालनको सहजता वृद्धि र महामारीपछिको आर्थिक पुनरुत्थानलाई सुनिश्चित गर्ने प्रतिबद्धताका साथ नेपाल अघि बढिरहेका विषय उल्लेख गरेको बताइएको छ। 

दुई देशबीच सहकार्य गर्न सकिने क्षेत्रमा कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षाका क्षेत्रमा विद्यार्थी आदानप्रदान कार्यक्रम रहेको मन्त्री भण्डारीले बताए। 

यसैगरी, नेपालले कृषि उत्पादन, हस्तकला सामग्री तथा तयारी पोशाकजस्ता उच्च गुणस्तरीय उत्पादन निर्यात गर्ने अवसर खोजिरहेको सन्दर्भमा मोल्डोभासँग सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै यी क्षेत्रमा मोल्डोभाको लगानीलाई स्वागत गर्न इच्छुक रहेको सुनाए। 

छलफलका क्रममा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपोसोइले नेपाल र मोल्डोभाबीच धेरै आयाममा समानता रहेको र जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण र यान्त्रिकीकरण, शैक्षिक र सांस्कृतिक आदानप्रदानजस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको उल्लेख गरे। 

नेपाली नागरिकलाई मोल्डोभामा रोजगारीको सम्भावना रहेको चर्चा गर्दै उनले यसमा थप साझेदारीको पहल गर्न सकिने विचार सुनाए । दुई देशबीच निर्यात सम्भावना भएका क्षेत्रको प्रवर्द्धन र साझेदारीका विषयमा आगामी दिनमा दुई देशका सम्बन्धित मन्त्रालयको सहकार्य र सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाउनुपर्ने विषयमा जोड दिए।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad