नेपाली कांग्रेसबाट राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवास्वप्न भएको बताएका छन्।
आज बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरू इतिहासमा सिमित भएको बताएका हुन्।
‘नेपाली जनता यो देशमा प्रजातन्त्र लोकतन्त्रका लागि लडि राखे र दरबारले जहिले पनि लोकतन्त्रको विपक्षमा आफ्नो भूमिका चलाइ राख्यो जसले गर्दा आज गणतन्त्रमा पुग्ने स्थिति बन्यो। राजा जनतासँग बस्न तयार भएनन् संसारमा धेरै राजाहरू छन्,' उनले भने, 'धेरै राजाहरू जनतासँग बसेका छन् ति राजाहरू अहिले पनि छँदैछन्। जुन राज जनतासँग बस्न तयार भएनन् ति राजाहरू समाप्त भएका छन्। अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने। हो फर्किएर आउने हो भने लोकतन्त्तमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने। तर नवराज सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्छ भने यो दिवास्वना हो।’
ढुंगानाले राजनीतिक दलका नेताहरूले एकअर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्नेप्रति सचेत गराए। उनले राजनीतिक दलका नेताहरू कोही पनि निर्दोष नरहेको भन्दै संयम भएर अघि बढ्नु पर्नेमा जोड दिए।
‘यो संविधान रहेन भने, देश रहेन भने कहाँ लोकतन्त्रको कुरा गर्ने? बिपी भन्नुहुन्थ्यो राष्ट्र रहेमा प्रजातन्त्रको कुरा गर्ने हो हामीले राष्ट्र रहेन भने कुन पजातन्त्रको कुरा गर्ने? आज सिक्किम छैन, अब त्यहाँ प्रजातन्त्रको कुरा गरेर हुन्छ त्यहाँका नेताहरूले?,' उनले भने, 'त्यस्तै अवस्था सिर्जना हुन्छ यदि हामीले बुद्धि पुर्याएनौँ भने, यदि हामीले एकअर्कालाई दोष मात्रै दियौँ भने। निर्दोष कोही पनि छैनौँ।’
Shares

प्रतिक्रिया