नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले बुधवारको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा. शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी रहेको बताए।
कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगहरुको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्नुपर्ने उनको भनाइ छ।
'ग्रामिण क्षेत्र, सिमान्तकृत वर्ग, पीछिडिएका र विपन्न समुदायको कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावलगायतका कारणले सामान्य तथा गम्भीर प्रकृतिका रोगका लागिसमेत स्वास्थ्य उपचार खर्चको अभाव हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतिपूर्ण रहेको हुनाले नेपालका सबै नागरिकका लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएको हुनाले’ उनको जरुरी सार्वजनिक महत्वको प्रश्तावमा उल्लेख छ।
प्रस्तावको समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षाको हक आम नागरिकले पाउन नसकेको बताए।
उनले स्वास्थ्य मन्त्रालयले सचिव र सम्बन्धीत मन्त्रालयका निकायहरुमा बिनाकमिसनको नियुक्ति नहुने जिकिर गरे। कसलाई कुन मन्त्रालयको सचिव बनाउने निर्णय सरकारले नभई विचौलियाले गर्ने गरेको उनको आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले संविधानले प्रत्याभुत गरेका आधारभुत सुविधाहर जनतालाई नदिएसम्म जनता र राज्यबीचको सम्बन्ध राम्रो नहुने बताए। उनले राज्य र जनताको सम्बन्ध जोड्नको लागि सरकार जिम्मेवार हुनुपर्ने बताए।
Shares

प्रतिक्रिया