राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘छातीमा हात राखेर’ भन्ने अहिले सामाजिक सञ्जालमा भाइरल आफ्नो भिडिओबारे स्पष्टीकरण दिएका छन्।
उक्त भिडिओ क्लिप्समा उनले छातीमा हात राखेर भनेका छन्- ‘म राजसंस्थाको समर्थक होइन।’
आज (सोमबार) आगामी आन्दोलनबारे छलफलका लागि भनेर राप्रपासहितका राजावादीहरूले गरेको भेला असफल भएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा मिश्रले आफ्नो भाइरल भिडिओका विषयमा प्रतिक्रिया दिएका हुन्।
उनले आफूले पहिलाको ‘मार्ग परिवर्तन’ गरेको भनेर सयचोटि भन्दा बढी भनिसक्दा पनि त्यही भिडिओ प्रचार भइरहेको बताए।
‘...प्रचण्डपथमा होइन, यो देश पृथ्वीपथमा हिँड्नुपर्छ भनेर मैले पहिला गल्ती गरेछु, मैले मार्ग परिवर्तन गरेँ भनेर सयचोटि त व्याख्या गरिसकेँ हुँला तैपनि त्यही भिडिओ आइरहन्छ’, उनले भने।
यस्तो छ सञ्चारकर्मीसँगको संवाद:
एकपल्ट छातीमा हात राखेर भन्दिनु न। यतिबेला तपाईंको एउटा भिडिओ भाइरल भाछ, छातीमा हात राखेर भन्ने के- कान्तिपुरमा केही वर्षअगाडि दिएको अन्तर्वार्ता। तपाईंले त्यहाँ जे भन्नुभयो नि- एकपल्ट सम्झिन सक्नुहुन्छ, छातीमा हात राखेर?
-कस्तो, अब के भन्ने के भन्ने? मार्ग परिवर्तन भन्ने शब्दावली मैले किन गरेँ हुँला? मार्ग परिवर्तन भन्दाखेरि यो बीचको तीन/चार वर्षमा जुन बाटो मैले भन्ने गरेको प्रचण्डपथमा हिँडिराखेको छ देश। त्यसबाट कुनै पनि हालतमा यो देश। तपाईंहरूजस्ता युवाको भविष्य सुरक्षित सुनिश्चित छैन, र मौका पायो भने यहाँ अपवादलाई छाडेर सिंगै तपाईंहरूजस्ता पुस्ता देशबाहिर जाने परिस्थिति निर्माण भयो। त्यसो हुनाले प्रचण्डपथमा होइन, यो देश पृथ्वीपथमा हिँड्नुपर्छ भनेर मैले पहिला गल्ती गरेछु, मैले मार्ग परिवर्तन गरेँ भनेर सयचोटि त व्याख्या गरिसकेँ हुँला तैपनि त्यही भिडिओ आइरहन्छ।
तर कहिले के, कहिले के बोल्दाखेरि कति गाह्रो हुँदोरहेछ जिन्दगीमा?
कहिले के, कहिले के कहाँ बोलेको छु? कि भन्नुपर्यो गल्ती नै गर्दैन मान्छेले जिन्दगीमा। मैले ५ वर्षअगाडि के गर्याथेँ, त्यो त जडसूत्रता हो। जडसूत्रवादीहरूले मात्रै ऊ मैले त यसरी पक्ड्याथेँ भनेर। तपाईंको छालाको रङ परिवर्तनशील छ, तपाईंको कपालको रङ परिवर्तनशील छ। तपाईंको आँखाको रङ परिवर्तनशील छ, तपाईंको ओँठको रङ परिवर्तनशील छ। त्यस्तै मान्छेको सोचाइ परिवर्तनशील छ।
यसैगरी तपाईंको सोचाइ परिवर्तन होला कि फेरि राजसंस्थाको एजेन्डाबाट पनि ?
त्यो चिन्ता गर्नु स्वाभाविक हो, तर यो मैले धेरै सोचीविचारीकन धेरै रात नसुतीकन। धेरै गाली खाएर। तथानाम भनाइ खाएर। दानवीकृत भएर। सबैले धेरैले छिःछीः र दूरदूर गरे नि, त्यतिबेला अढाई तीन वर्षका पत्रपत्रिका हेर्नुस् त– मलाई दानवीकृत नगर्ने, मलाई छिःछिः दूरदूर नगर्ने, कुनै सञ्चारमाध्यम छैन। सामाजिक सञ्जाल त्यसैले भरिपूर्ण थियो। त्यो सबै मैले जानीबुझीकन यो देशको हितमा छैन भनेर मार्ग परिवर्तन गरेको।
Shares

प्रतिक्रिया