सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्गको प्रथम केन्द्रीय महाधिवेशन चैत ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। यसका लागि सम्पूर्ण तयारी पूरा हुने चरणमा रहेको प्रचारप्रसार समिति संयोजक माधवप्रसाद चम्लागाईंले जानकारी दिए।
आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक चौलागाईंले देशभरका ७७ जिल्लाका करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताए। महाधिवेशनका लागि प्रदेश अधिवेशन पनि सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ।
'हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकाँश स्थानीय तहको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न भई सकेको जानकारी गराउन गराउँदछौ,' उनले भने ।
संयोजक चौलागाईंले थपे, 'अधिवेशनको पहिलो दिन चैत्र ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलयायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बीचमा भव्य रूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्दसत्र हुनेछ।'
महाधिवेशनमा नेपाल सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू जस्तै शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, स्वरबोलाइसम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहने उनले बताए।
'यस संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिनेछ,' उनले थपे ।
संघको प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ र कोषाध्यक्ष तथा दुई जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने व्यवस्था छ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको छ। १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरि कार्य प्रारम्भ गरिएको चौलागाईंको भनाइ छ।
'यस महाधिवेशनमा सहभागी हुने लगभाग १००० जना प्रतिनिधिहरूलाइ दुइदिनसम्म खाना तथा बस्नेको व्यवस्था गरिनेछ। अधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ,' उनले भने।
Shares

प्रतिक्रिया